अब नयाँ शिराबाट संवाद : कांग्रेस

3-party-and-morcha-task-forceकाठमाडौं २३ पुस ं । तीन दल र मधेसी मोर्चाबीचको कार्यदलस्तरीय वार्तामा कांग्रेसले नयाँ शिराबाट संवाद थाल्ने प्रस्ताव गरेको छ । शान्ति मन्त्रालयमा भएको बिहीबारको वार्तामा कांग्रेसले सीमांकन हेरफेरका लागि तयार भएको जनाऊ दिएको छ । यसका लागि राजनीतिक संयन्त्र बनाउने र त्यसको कार्यविधिमा राज्य पुनर्संरचना आयोग र समितिले बनाएको सैद्धान्तिक आधारलाई नै राख्ने कांग्रेसको प्रस्ताव छ ।

कार्य दलका एक सदस्यका अनुसार वार्तामा कांग्रेसका महेश आचार्यले नयाँ शिराबाट संवाद थाल्ने प्रस्ताव राखेका हुन् । तीन दलले दुई बुँदामा सहमति गरौँ भन्ने र मधेसी मोर्चाले नमान्ने अहिलेको गोलचक्करपूर्ण अवस्था अन्त्य गर्नुपर्नेमा आचार्यले जोड दिएका थिए ।
कांग्रेस नेता आचार्यले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमाथि आफ्नो धारणा राखे र त्यसको सुरुआत राज्य पुनर्संरचनाबाट गरे । राज्य पुनर्संरचना समिति र आयोगले बनाएको सैद्धान्तिक आधारमा कांग्रेस र एमालेको समेत सहमति रहेको भन्दै उनले त्यसलाई नै संयन्त्रको कार्यविधिमा राख्न प्रस्ताव गरे ।

मधेसी मोर्चाका एक सदस्यले भने, ‘कांग्रेसले समितिको सैद्धान्तिक आधारलाई टिओआरमा राख्ने र तीन महिनाभित्र सीमांकन टुंग्याउने प्रस्ताव ल्याएको छ ।’

कांग्रेस नेता आचार्यले भने छलफलमै रहेको विषय भन्दै विस्तृतमा बताउन चाहेनन् । पहिलो संविधानसभाको राज्य पुनर्संरचना समितिले सर्वसम्मत आधारमा पहिचानका ५ र सामथ्र्यका ४ आधार बनाएको थियो । तर, ७ प्रदेशको सीमांकन गर्दा त्यसलाई पूर्णरूपमा आत्मसाथ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो ।

कार्यदलस्तरीय वार्तामा कांग्रेसले समानुपातिक समावेशीको क्लस्टर पुनरावलोकन गर्न सकिने बताएको छ । साथै निर्वाचन क्षेत्र निर्धारणका हकमा संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा अर्को संशोधन राखेर प्रदेशको जनसंख्या भन्ने शब्द थप्ने र प्रत्येक निर्वाचन क्षेत्रमा समान जनसंख्या बनाउन यथासम्भव प्रयास गर्ने बताएको छ ।

कार्यदलको बैठकमा एमालेका भीम रावलले भने संविधान संशोधन प्रस्तावमा मात्र जोड दिएका छन् । संशोधन प्रस्तावमा संशोधन दर्ताका लागि दिएको समय बिहीबारै सकिने भएकाले यसमा सहमति खोज्न रावलले जोड दिएको एक सदस्यले जानकारी दिए ।

जवाफमा मधेसी मोर्चाका नेताहरूले भने दुईवटा विषयमा मात्र सहमति हुन नसक्ने बताएका थिए । उनीहरूले सकारात्मक सन्देश दिन चाहेको हो भने समानुपातिक समावेशीको क्लस्टर पुनारावलोकन गर्न र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सुनिश्चित गर्न सुुझाव दिएका छन् । कांग्रेस नेता आचार्यले राखेको प्रस्तावमा भने मोर्चाका नेताहरू सकारात्मक देखिएको स्रोतले बताएको छ ।

कार्यदलको बैठकमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा अनुपस्थित थिए । उनको स्थानमा गृहमन्त्री शक्ति बस्नेत बैठकमा सहभागी थिए । उनले मधेसी मोर्चाको माग र आफ्नो पार्टीले राखेको फरक मतमा ठूलो फरक नभएको बताएका थिए ।

प्रतिक्रिया