लखेटिए धर्नाकारी

miteri 1वीरगन्ज, २२ पुस । वीरगञ्ज र भारतको रक्सौल जोड्ने मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी र भारतीय व्यपारीबीच बुधबार फेरि झडप भएको छ । झडपका कारण सो क्षेत्र तनावग्रस्त भएको छ ।

झडपका क्रममा भारतीय व्यपारीले आन्दोलनकारीमाथि पाँचवटा पेट्रोल बम प्रहार गरेका छन् । सो घटनामा तीनजना आन्दोलनकारी घाइते भएका छन् । भारतीयले हानेको ढुंगाले लागेर राष्ट्रिय मधेस समाजवादी पार्टीका युवा नेता चुन्नु मिश्रा, सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेल र सरफुदिन अन्सारी घाइते भएका छन् । घाइतेमध्ये मिश्राको मुख र नाक फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अन्य दुईजना उपचारपछि घर फर्किएका छन् ।

बुधबार बिहान रक्सौलबाट साइकल र पैदल सामानको पोका लिएर धर्नास्थल हुँदै वीरगन्ज प्रवेश गरिरहेका २०÷२५ जना भारतीय व्यपारीलाई धर्नामा बसेकाले रोक्न खोजेपछि विवाद भएपछि झडप भएको हो । आन्दोलनकारी र भारतीय व्यपारीबीचको झडपका कारण मितेरी पुल साँझसम्मै तनावग्रस्त बन्यो । मितेरी पुलमा आन्दोलनकारीले भारतीयहरूले रक्सौलबाट वीरगन्जतर्फ ल्याउँदै गरेको केही सामानको पोका नियन्त्रणमा लिएर जलाइदिएका थिए ।

रक्सौलबाट सामान ओसार्ने भारतीय व्यपारीहरूले हातपात गर्न खोजेपछि आन्दोलनकारीले प्रतिवाद गर्दा झडप भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले बताए । ‘रक्सौलबाट तस्करहरू साइकलमा सामान लिएर आउँदै थिए’, उनले भने, ‘हामीले सामान नओसार्न आग्रह गर्दैथियौँ, अचानक वीरबहादुर भन्ने एक तस्करले हाम्रा साथीमाथि हातपात गरेपछि झडप सुरु भयो ।’

संघीय समाजवादी फोरम नेपालका नेता बच्चा यादवले भने मोबाइलको रिचार्ज कार्ड खरिद गर्न शंकराचार्य प्रवेशद्वार नजिकै गएका बेला आफूलाई भारतीय तस्करहरूले घेरा हालेर हातपात गर्न थालेपछि झडप भएको बताए । रक्सौलबाट पाँच÷६ जना भारतीय प्रहरीहरू झडपस्थलमा आइपुेपछि भारतीयहरू पछाडि हटेका थिए ।

त्यसपछि मितेरी पुलको स्थिति सामान्य भएको थियो । भारतीयहरू फर्किएपछि आन्दोलनकारीहरू पनि मितेरी पुलमा फर्किएका थिए । भारतीय प्रहरीले आन्दोलनकारी नेताहरूसँग घटनाबारे जानकारी लिएका थिए । सीमा नाकामा झडप भइरहँदा नेपाली सुरक्षाकर्मीहरू भने रमिते बनेका थिए । शंकराचार्य प्रवेशद्वार अगाडि करिब दुइ दर्जनको संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले झडप भइरहँदा कुनै वास्ता गरेनन् ।

सीमानाकामा भारतीयसँग भएको झडप साम्य भएलगत्तै बुधबारै मितेरी पुलमै आन्दोलनकारी र टयाम्पो चालकहरूबीच पनि झडप भएको छ । धर्नास्थलनजिकै यात्रु ओसारी रहेका टयाम्पोलाई लखेटन गएका एकजना आन्दोलनकारीलाई चालकहरूले कुटेपछि झडप भएको हो । टयाम्पु चालकहरूले आन्दोलनकारी विक्रम साह तेलीलाई कुटेलगत्तै आक्रोशित मधेसी दलका कार्यकर्ताहरूले मितेरी पुल नजिकै पार्किङ गरेर राखिएका २८ वटा टयाम्पुमा तोडफोड गरेका थिए ।

हातमा लठ्ठी भाटा लिएर पुगेका आन्दोलनकारीहरूले ट्याम्पो तोडफोड गर्नुका साथै आधा दर्जन टयाम्पो सडकमै पल्टाइदिएका थिए । आन्दोलनकारीहरूको तोडफोडबाट सबै टयाम्पोको शीशा र हेडलाइट फुटेको छ ।

गत ७ असोजदेखि मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीमाथि भारतीयहरूले पटक पटक आक्रमण गर्दै आएका छन् । आन्दोलनकारीमाथि भारतीयहरूले गरेको यो पटकको आक्रमण हो । यसअघि गत मंसिर १६ गते पहिलो आक्रमण भएको थियो । त्यसपछि लगातार मंसिर १७, पुस ८, ९, १५ र १६ गते आन्दोलनकारीमाथि भारतीय व्यापारीको आक्रमण भएको थियो ।

आन्दोलनकारीहरू दिनरात धर्नामा बसेर नाका ठप्प पारेपछि कारोबार गर्न असहज भएका कारण भारतीय व्यपारी र तीनका भरियाहरूले पटक–पटक आक्रमण गर्दै आएका हुन् । रक्सौलको अहिरवा टोल र प्रेमनगरका कारोबारीहरूले समय–समयमा ठेला र टंगामा सामान लोड गरेर मितेरी पुलकै नाकाबाट वीरगञ्ज भित्र्याउँदै आएका छन् । जाडो शुरु भएपछिका दिनमा धर्नामा बस्ने आन्दोलनकारीहरू कम हुँदै गएका कारण कारोबारीलाई सामान भित्र्याउन सहज भएको छ ।

प्रतिक्रिया