क्रस बोर्डर टुरिज्मको नीति ल्याइयो

काठमाडौं, २२ पुस । भूकम्प र नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा ल्याइएको छ । पर्यटन क्षेत्रका विज्ञहरू सम्मिलित नेसनल टुरिजम फाउन्डेसनले संक्रमणको चेपुवामा परेको पर्यटनलाई गति दिन ‘क्रस बोर्डर टुरिजम इन दि हिमालयन रिजन’ नामक अवधारणा ल्याएको हो ।

नेपाल–ल्हासादेखि भुटान–सिक्किमसम्मको हिमाली क्षेत्रमा ती देशका पर्यटकलाई भ्रमण गराई स्थानीय अर्थतन्त्रको बढावा दिनेलगायत कार्यक्रम सो अवधारणामा समावेश छन् । योे अवधारणाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै सम्बन्धित देशको आपसी सम्बन्ध र सद्भावलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विज्ञको विश्वास छ । यो अवधारणा कार्यान्वयनका लागि राय सुझाव लिन फाउन्डेसनले बुधबार सरोकारवाला विज्ञबीच एक अन्तक्र्रिया गरेको थियो ।

कार्यक्रममा सिक्किम टुरिजम डेभलपमेन्ट कर्पोरेसनका अध्यक्ष अन्तर्राष्ट्रिय अल्ट्रा धावक, सिक्किमका सगरमाथा आरोहीको पनि सहभागिता थियो । धार्मिक पर्यटन प्रवद्र्धनका लागि यसअघि पनि नेपाल र भारतबीच बुद्धिष्ट सर्किटको अवधारणा ल्याइएको थियो । त्यसैगरी अहिले हिन्दू सर्किटको अवधारणा पनि अघि सारिएको छ ।

अर्को महत्वपूर्ण अन्तरदेशीय ग्रेट हिमालय ट्रेलको अवधारणा पनि लागू गरिएको थियो । पछिल्लो समय अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणाले नेपालको पर्यटन मात्र नभई अन्तरदेशीय सम्बन्धलाई विस्तार गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने कार्यक्रमका वक्ताको भनाइ थियो । पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले अन्तरदेशीय पर्वतीय पर्यटनको अवधारणाले पर्यटन प्रवद्र्धन मात्र नभई ती देशबीच जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

पूर्वमुख्यसचिव लिलामणि पौडेलले अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि पर्वतीय पर्यटनको अवधारणा उपयोगी रहेको र यसलाई नीतिगत ढंगले सम्बोधन गरी व्यावहारिक कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए । फाउन्डेसनका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र पर्यटन व्यवसायी विक्रम पाण्डेले अहिलेको पर्यटनलाई थप गति दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रवद्र्धन गर्न नयाँ अवधारणा सान्दर्भिक हुने बताए ।

सिक्किम टुरिजम डेभलपमेन्ट कर्पोरेसनका अध्यक्ष रूपनारायण राईले पर्यटन उद्योगलाई चार देशसँग जोडेर प्रवद्र्धन गर्ने योजना राम्रो अवसर भएको धारणा राखे । अन्तर्राष्ट्रिय अल्ट्रा धावक रोश्नी राई, सगरमाथा आरोही कुञ्जन ज्ञासो भुटिनलगायतले पर्वतीय पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया