नेम्वाङ एमाले संसदीय दलको उपनेता

Untitled-1 copyकाठमाडौं, २१ पुस । एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित भएको झण्डै दुई वर्षपछि सो पार्टीले उपनेता चयन गरेको छ । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले स्थायी समिति सदस्यको जिम्मेवारी दिएको केही दिनपछि नै सुवासचन्द्र नेम्वाङलाई दलको उपनेताको जिम्मेवारी दिएको हो । संसदीय दलको उपनेता कसलाई बनाउने भन्नेबारे यसअघिका बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद हुँदा एमालेले दलको उपनेता चयन गर्न सकेको थिएन ।

ओलीले आफू पार्टी अध्यक्ष भएर आएपछि बसेको संसदीय दलको बैठकबाट प्रमुख सचेतकमा भने मन्त्रिपरिषदको कोटामा सांसद भएका अग्नि खरेललाई प्रमुख सचेतकमा नियुक्त गरेका थिए । खरेललाई प्रमुख सचेतक बनाएको भन्दै नेपाल पक्षका नेताहरूले अध्यक्ष ओलीको चर्को आलोचना गरेका थिए ।

यसैगरी दलको बैठकले यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका अग्नि खरेल वर्तमान सरकारमा कानुनमन्त्री भएकाले रिक्त रहेको सो पदमा सांसद भानुभक्त ढकाललाई चयन गरेको छ ।

संसदीय दलको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष भीमवहादुर रावल र अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेलले सरकारले गरिरहेका काम कारबाहीबारे जानकारी गराएका थिए । अर्को बैठक४ माघमा बस्ने र सोही बैठकमा सांसदहरूले आफ्ना धारणा राख्ने तय भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया