‘पार्टीको विधान संसोधन हुँदैन’

काठमाडांै, २१ पुस । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको विधान संशोधन नहुने बताएका छन् । पुरानै विधानअनुसार गाँउ र जिल्लाको अधिवेशनहरू हुन गईरहेको अवस्थामा अब विधान संशोधनको औचित्य नरहेको बताए । उनले विधान संशोधन गरी पदाधिकारी थपिन लागेको चर्चालाई ठाडै अस्वीकार गरेका छन् ।

देउवाले भने, ‘बिनासहमति विधान संशोधन हुँदैन । विगतमा पनि सहमतिमै विधान संशोधन हुन्थ्यो । त्यो परम्परा तोड्न मिल्दैन । विधान संशोधन गर्ने भए पछि महासमिति बोलाएर गर्न सकिन्छ ।’

यद्यपि देउवाले अहिलेको विधानमा प्रत्येक अञ्चलबाट एक केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकोमा मुलुक अब संघीय प्रणालीमा गएकोले एक प्रदेशबाट दुईजनाको दरले केन्द्रीय सदस्य चयन हुने व्यवस्थामा भने सहमति भइसकेको बताए ।

क्रियाशील सदस्यता वितरणमा आफूलाई चित्त नबुझे पनि नरहरि आचार्य नेतृत्वको टिमलाई मिलाउने जिम्मेवारी दिएकोले त्यसलाई सबैले मान्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘पहिला पनि नरहरिजीको समितिले दिएको कुरा सबैलाई चित्त बुझेको थियो । यसपटक पनि विवाद गर्नु आवश्यक छैन । यो टुंगियो ।’

संस्थापन पक्षका नेताहरूलाई प्रलोभन दिएर आफूतिर तान्न खोजेको भन्ने प्रश्नमा उनले आफूले कसैलाई कुनै आश्वासन नबाडेको र कसैले आफूसँग अहिलेसम्म कुनै पद नमागेको र माग्न समेत कोही नआएको दाबी गरे ।

उपसभापति रामचन्द्र पौडेलले पनि सभापतिको उम्मेदवारी घोषणा गर्नु भयो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने, ‘खोई मलाई थाहाँ छैन, उहाँले त सल्लाह गरेर मात्रै घोषणा गर्छु भन्दै हुनुहुन्थ्यो ।’

नेता देउवाले संसदमा रहेको संविधान संशोधन विधेयक पारित भएको भोलिपल्टै नाकाबन्दी खुल्ने ठोकुवा गरे । राजधानीमा भएको एक साक्षातकारमा उनले भने, ‘मधेसको मुद्दा समाधान हुन्छ । संसदमा रहेको संविधान संशोधन विधेयक पास भएको भोली पल्टैबाट नाकाबन्दी खुल्छ र अवस्था सहज हुन्छ ।’ भारतसँग सम्बन्ध नबिग्रेको भन्दै देउवाले नेपाल–भारत सीमामा केही समस्या भए पनि यहाँ भारतविरोधी गतिविधी नबढेको बताए ।

उनले मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे मागमा कुरा गर्ने सहमति भएको भन्दै प्रमुख दलले गठन गरेको कार्यदलसँग कुरा गर्न मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेपछि वार्ताको वातावरण अझै सहज भएको धारणा राखे । उनले भने, ‘अब कुरा मिल्छ । मधेसी मोर्चासँग पनि हामी सबै मुद्दामा छलफल गर्न तयार छौँ ।’

देउवाले सरकारले अन्तरिम संविधानमा रहेको तर अहिले छुटेको सामानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कामलाई संशोधनमार्फत अगाडि बढाइएको उल्लेख गर्दै अब संशोधनलाई मधेसी मोर्चाको सुझावअनुसार अगाडि बढाउने स्पष्ट पारे । उनले मधेसको समस्या समाधान गर्न आफू बाधक भएको भन्ने टिप्पणीको खण्डन गर्दै भने, ‘यो म माथिको झुठा आरोप हो । म मधेसको समस्या मिलाउन तयार छु । टेबलमा बसेर समाधान गर्नुपर्छ । यो बाहिर भन्दै हिड्ने कुरा होइन । सीमांकनमा पनि हामी कुरा गर्न तयार छौँ राजनीतिक संयन्त्र बनाएर तीन महिनामा छलफल गरेर सहमति जुटाउन सकिन्छ ।’

देउवाले आफूले साथीहरूसँग सल्लाह गरिरहेको उल्लेख गर्दै सल्लाहपछि केही दिनमै पार्टीको आगामी १३ औँ महाधिवेशनमा सभापति पदको लागि उम्मेदवारी घोषणा गर्ने बताए । उनले भने, ‘तपाई पत्रकार साथीहरूलाई बोलाएर नै चाँडै उम्मेदवारी घोषणा गर्छु । अहिले म छलफल गरिरहेको छु ।’

प्रतिक्रिया