संकटमा चामल उद्योग

काठमाडौं, १९ पुस । लगातारको लामो बन्द र हड्तालका कारण बारा र पर्साका चामल उद्योग संकटमा पर्न थालेका छन् । बन्दका कारण बारा पर्साका चामल उद्योगले साढे ७ अर्ब रूपैयाँभन्दा बढी घाटा बेहोरेका छन् ।

मधेस केन्द्रित दलहरूको आह्वानमा झन्डै साढे ४ महिनादेखि तराई मधेसका जिल्लामा बन्द र हड्ताल जारी रहेको छ । कच्चा पदार्थको अभाव र ढुवानीमा देखिएको अवरोधका कारण बारा र पर्साका अधिकांश चामल उद्योगले घाटा बेहोर्नुपरेको हो, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताले भने, ‘क्षमताका आधारमा चामल उद्योगले दैनिक १५ लाख रूपैयाँदेखि २ करोड रूपैयाँसम्म घाटा बेहोरिरहेका छन् ।’

आन्दोलनकारीको निरन्तरको अवरोधका कारण यस क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन, उनले भने, ‘४ महिनाको निरन्तर बन्द र हड्तालका कारण यस क्षेत्रका चामल उद्योगले साढे ७ अर्ब रूपैयाँभन्दा बढी घाटा बेहोरिसकेको छ ।’

स्वदेशी चामल उद्योगहरूलाई प्रोत्साहन गर्ने हो भने धानको आयातमा लाग्ने कृषि सेवा शुल्क घटाउनुपर्ने तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्नेमा चामल व्यवसायीहरू जोड दिन्छन् । अहिले चामलको आयातमा ८ प्रतिशत र धानमा ५ प्रतिशत कृषि सेवा शुल्क लिइने गरिन्छ ।

‘हामीले यस वर्ष कम्तीमा चामलको आयातमा लाग्ने ८ प्रतिशत शुल्कबाट बढाएर १० प्रतिशत र धानको आयातमा लाग्ने ५ प्रतिशतबाट घटाएर शून्य वा कम्तीमा २ प्रतिशत कायम गर्नुपर्ने माग सरकारसँग गरेका थियौँ’, मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहेका उपाध्यक्ष गुप्ताले भने ‘तर सरकारले हाम्रो माग सुनेन, फलस्वरूप भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा र पर्सामा रहेका चामल उद्योग संकटमा परेका छन् ।’

५ वर्षअघिसम्म बारा र पर्सामा करिब ३ सय ५० को हाराहारीमा रहेको चामल उद्योगमध्ये झन्डै ३ सयको हाराहारीमा बन्द भइसकेका छन् । अहिले ५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधा संकटग्रस्त रहेको चामल उद्योग सञ्चालकहरू बताउँछन् ।

भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेप्टेम्बर ९ बाट फुकुवा गरेपछि तयारी चामल र धान ठूलो परिमाणमा आयात हुन थालेको हो । भारतको विहार मात्र नभई उत्तर प्रदेशका उद्योगका चामलसमेत आयात भइरहेको दाबी चामल उद्योगीहरूको छ ।

स्वदेशमै उत्पादित धानले यहाँका चामल मिलको वार्षिक कुल मागको ७० प्रतिशत धान्न सक्ने अवस्था रहेकामा यहाँको किसानको ढाड सेक्ने गरी भारतबाट चामल र धान दुवै आयात गरिएको चामल उद्योगी अनिरुद्धप्रसाद गुप्ताले बताए ।

मुलुकको कुल चामल मागको ४० देखि ५० प्रतिशत आपूर्ति यहाँका उद्योगले गर्दै आएका छन् भने काठमाडौं उपत्यकाको चामलको आधा बजार यी दुवै जिल्लाको उद्योगले धान्दै आएका छन् ।

हामीले कुनै समय भारतमा चामल निर्यात गर्ने गरेका थियौँ, उद्योगी गुप्ताले भने, ‘अहिले भारतबाट ठूलो परिमाणमा चामल आयात हुने गरेका छन, त्यसैले आयातलाई निरुत्साहन गर्ने किसिमले धान र चामलको भन्सार मूल्यांकन व्यावहारिक र वैज्ञानिक हुनुपर्दछ ।’

वीरगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा यो नाका भएर भारतबाट ५ अर्ब ७४ करोड मूल्य बराबरको २१ करोड ६ लाख किलो धान आयात भएको थियो ।

स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने माग गत वर्षदेखि नै उठाउँदै आएको भए पनि यस वर्षको बजेटमा समेत त्यसलाई सम्बोधन गरिएको छैन, अर्का चामल उद्योगी गणेश लाठले भने चामल उद्योगको प्रवद्र्धनका लागि सरकार संवेदनशील हुनुपर्दछ ।

उनका अनुसार, बन्द र हडतालका अवधिमा करिब ८ हजार अस्थायी मजदुरले रोजगारी गुमाएका छन् भने स्थायी मजदुरलाई उद्योग व्यवस्थापकले उद्योग बन्द भएको अवधिको पनि तलब र सुविधा दिनुपरेको छ ।

प्रतिक्रिया