“बागमती”को प्रचारमै व्यस्त हमाल

bagmati copyकाठमाडौं, १९ पुस । महानायक राजेश हमालको कमब्याकको रूपमा हेरिएको चलचित्र ‘बागमती’ ले यतिबेला आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

राजेश हमाल जुनसुकै कार्यक्रमहरूमा पुग्दा पुरानो डायलग ‘साथीहरूका लागि यो हात सलाम हो, दुस्मनका लागि यो हात फलाम हो, शंकर हो मेरो नाम शंकर’ दर्शकले राजेशको मुखबाट यो संवाद नसुनेसम्म सुखै दिदैनन् । देश तथा विदेशमा आयोजना हुने कार्यक्रममा हमाल यही एउटा संवाद सुनाएर स्टेजबाट झर्छन् । यो संवादले नै हमाललाई दर्शकमाझ अझै पनि चर्चामा राखिदिएको छ ।

कुनै पनि कलाकारका लागि संवादले यसरी चर्चामा राख्नु सुखद कुरा हो । तर, कहिलेसम्म एउटै संवादको भरमा चलिरहने भन्ने पनि मुख्य हो । उनै, राजेश अहिले अर्को एक संवादलाई स्थापित गर्ने दाउमा लागेका छन् । चलचित्र ‘बागमती’मा समावेश ‘नेपाल पहिलेको नेपाल रहेन, तर राजेश उही राजेश हो’ भन्ने संवादलाई राजेशले पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा सुनाए ।

चलचित्रको प्रचारका लागि खासै नहिँड्ने हमाल अहिले देश दौडाहामा लागेका छन् । पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा हमालले भने, ‘निर्देशकले मलाई एउटा फरक भूमिकामा देखाउन खोज्नुभएको छ, आशा छ यसलाई दर्शकले मन पराउनेछन् ।’ पत्रकार सम्मेलनमा चलचित्रकी कलाकार श्रेया कार्कीले अंग्रज कलाकारसँग काम गर्दा खुसी भएको अनुभूति सुनाइन् । कार्यक्रममा चलचित्रका निर्माता दिनेश दर्शनधारीले आफ्नो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा चलिरहेको ट्रेन्डलाई बदल्ने दाबी गरे । बजेटको कुनै सम्झौता नगरिकन आफूले चलचित्रमा लगानी गरेको उनको भनाइ छ ।

दक्षिण भारतका चलचित्रका निर्देशक सन्नी केरलाले यसलाई निर्देशन गरेका हुन् । विजय सत्यालको समेत लगानी रहेको चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, श्रेया कार्कीको साथमा अतिथि भूमिकामा केकी अधिकारीलाई देख्न सकिन्छ ।

फिल्म आउँदो २४ गते अर्थात शुक्रबारबाट देशव्यापी रूपमा हलमा लाग्दै छ ।

प्रतिक्रिया