वार्ता फेरि निष्कर्षविहीन

bartaकाठमाडौं, १९ पुसं । प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता फेरि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आइतवार साँझ भएको वार्तामा तीन दलको तर्फबाट कार्यदल बनाउने प्रस्ताव गरिएको थियो । तीन दलको उक्त प्रस्तावमाथि मोर्चाले ‘आन्तरिक छलफल आवश्यक रहेको’ भन्दै छलफललाई स्थगन गरेको थियो । वार्तामा तीन दलले मोर्चाको ११ बुँदे मागबारे सहमति जुटाउन कार्यदल गठनको प्रस्ताव गरेको हो । मोर्चा भने उक्त विषयमा ‘रिजर्भ’ बसेको छ ।

तीन दलले चारै पक्षबाट १÷१ जना रहने गरी कार्यदल गठनको प्रस्ताव राखेको थियो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान संशोधन र सीमांकनबारे छलफल भएको भन्दै कार्यदल गठनको प्रस्ताव राखेको बताए । बैठकमा मधेसी मोर्चाका नेता महन्थ ठाकुरले ११ बुँदे मागबारे तीन दलको धारणा मागेका थिए । तीन दलले कार्यदलमै छलफल गर्ने बताएपछि मोर्चाका नेताहरु सकारात्मक देखिएका छन् । तर, मोर्चाका शीर्ष चार नेतामध्ये ठाकुर मात्र वार्तामा रहेको भन्दै आन्तरिक छलफल गरेर जवाफ दिने बताएका छन् ।

वार्तामा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरु उपस्थित रहे पनि मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, रामनरेश राय र राजेन्द्र श्रेष्ठ मात्रै सहभागी थिए । मोर्चाका नेताहरु उपेन्द्र यादव र महेन्द्र राय यादव वार्तामा थिएनन् । मोर्चामा आवद्ध सद्भावना अध्यक्ष राजेन्द्र महतो भने उपचारका लागि दिल्लीमा छन् । उनको पार्टीले आइतबारबो वार्ता बहिष्कार गरेको बताएको छ ।

कांग्रेसका नेता शेरबहादुर देउवाले मधेसी मोर्चासँगको छलफल सकारात्मक रहेको र मंगलबारसम्म सहमति हुने बताएका छन् । उनले भने, ‘सबै विषयमा राम्रोसँग छलफल भएको छ । मंगलबारसम्म सहमति होला ।’

झन्डै एक महिना लामो ‘ब्रेक’पछि सरकार, प्रमुख प्रतिपक्षी र मोर्चाबीच वार्ता भएको हो । २७ मंसिरमा हुने भनिएको निर्णायक वार्ता एक घन्टामै निश्कर्षविहीन भएपछि अहिलेसम्म सरकार र मोर्चाबीच औपचारिक वार्ता भएको थिएन । मधेसी मोर्चाले राखेका सिमांकनको पुनरालोकन, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, राज्याका निकायमा समावेशी सहभागिता र नागरिकतालगायत मुद्दामा साझा अवधारणा बनाउने प्रयास स्वरुप तीन दल केही दिनदेखि छलफलमा जुटेका थिए ।

सद्भावना अध्यक्ष आन्दोलनकै क्रममा घाइते बनेकाले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने उनको पार्टीले घोषणा गरिसेको छ । त्यही निर्णयअनुसार महतो पक्ष आइतबारको वार्तामा सहभागी नभएको हो । आइतबारकै वार्ताका लागि मोर्चाले तयारी गरिरहेको बेला महतोको सद्भावनाले भने एकलौटी रुपमा आन्दोलनको घोषणा गरिसकेको हो । मुख्य तीन दलको शीर्ष बैठक बसेर मधेसी मोर्चासँग एक साता अघि नै त्रिपक्षीय वार्ता गर्ने तयारी भए पनि महतो घाइते भएको शनिबारको विराटनगर झडपपछि वार्ताको वातावरण बिथोलिएको थियो ।

यसैबीच मधेस आन्दोलनलाई सम्बोधन गर्न संसद्मा पेस भएको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । सोमबार कानुनमन्त्रीले जवाफ दिएपछि यसलाई संशोधनको प्रक्रियामा लगिनेछ । संशोधनको म्याद ७२ घन्टाको हुनेछ । यहीबीचमा मधेसी मोर्चासँग निर्णायक वार्ता गरेर सहमतिमा विधेयकलाई पारित गर्ने रणनीति प्रमुख तीन दलले बनाएका छन् ।

प्रतिक्रिया