कांग्रेसमा उठ्यो उमेर विवाद

काठमाडौं, १९ पुस । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको उमेरको हदबारे पनि कुरा उठ्न थालेको छ । कांग्रेसमा अहिले उमेरको विषयले विवाद हुन थालेको छ । एमालेले गत फागुनमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाटै केन्द्रीय समितिका लागि ७० वर्षे उमेर हद तोकेर विधान पारित गरिसको छ ।

नेपालको राजनीतिमा पुराना र बूढा नेतालाई विस्थापित गरेर युवा पुस्तालाई नेतृत्व दिनुपर्ने भनाइ फेसनकै रुपमा आउने गरेको छ । पुरानो पुस्ताका नेताहरुमा भने युवालाई क्षमताका आधारमा प्रतिपस्र्धा गर्नुपर्छ भन्दै बाँचुञ्जेल नेतृत्वमा टासिइरहने मानसिकतामा रहेको पाइन्छ ।

कांग्रेसमा बूढा नेताको विम्वका रुपमा सुशील कोइराला र युवा नेताको विम्वमा गगन थापालाई लिने गरिन्छ । तर, गगन थापालाई युवा नेताको रुपमा प्रोटेक्ट गर्दा कांग्रेसभित्रका ७० कटेका नेताहरुको चित्त फाट्ने गरेको छ ।

गगन थापाजस्तै कांग्रेसमा धनराज गुरुङ, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, प्रदीप पौडेललगायत युवाहरुलाई सम्भावना बोकेका नेताका रुपमा हेर्ने गरिएको छ । यद्यपि नेपाली कांग्रेसमा पुराना नेताहरुको सूची निकै लामो छ । जसले नेतृत्वमा निरन्तर दाबी गरिरहेका कारण युवाहरुको पालो तत्कालै आइहाल्ने स्थिति छैन ।

कांग्रेसको विधानमा उमेर हदबारे कुनै व्यवस्था छैन । संगठनमा ‘एक्जिट पोलिसी’ अर्थात प्रमुख पदहरुबाट बाहिरिने नीति नहुने हो भने नयाँ पुस्ता कसरी आउँछन् भन्ने प्रश्न बेलाबेला उठ्ने गरेको छ । संगठनलाई चुस्त बनाउन पनि ‘एक्जिट पोलिसी’ आवश्यक पर्ने युवा नेता गगन थापा बताउँछन् । तर, कांग्रेसका बहुसंख्यक नेता कार्यकर्ताले उमेरले होइन, विचारले महत्व राख्छ भन्ने मत राख्छन् । कांग्रेसमा विधानबारे छलफल गर्ने थलो महासमिति बैठक हो । र, महाधिवेशन हुनुअघि यस्तो बैठक हुनुपर्ने हो । तर, ०६९ चैतमा नवलपरासीमा महासमिति बैठक भएयता यस्तो बैठक हुन सकेको छैन । त्यसैले योपटक महाधिवेशन अघि महासमिति बैठक हुने छैन ।

विधान संशोधनको मस्यौदा तयार पार्न संगठन विभाग प्रमुख आनन्द ढुंगाना नेतृत्वको समितिले जिम्मा पाएको छ । यो समितिको प्रतिवेदन आएपछि केन्द्रीय समितिमा छलफल हुनेछ । कांग्रेस नेता गगन थापा केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने र ६५ वर्षको उमेर हद राख्ने प्रस्तावको तयारीमा रहेको बताउँछन् ।

नेपालमा अहिले १८ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ६० प्रतिशतभन्दा बढी छ । कमाउने हातहरु मानिने यो उमेर समूहको जनसंख्या यति धेरै भएको यो पहिलोपटक हो । तर, देशको सबैभन्दा ठूलो पार्टी कांग्रेसको नेतृत्वमा भने ६० वर्षभन्दा कम उमेरको कुनै भूमिका छैन । कांग्रेस यतिबेला १३ औं महाधिवेशनको तयारीमा छ । तर, योपटक पनि ८० वर्षका सुशील कोइराला र ७० वर्ष पुग्दै गरेका शेरबहादुर देउवा नै सभापतिमा चुनाव लड्ने तयारीमा छन् ।

सभापतिका अर्का दाबेदार रामचन्द्र पौडेल पनि ७१ वर्षका भइसके । यसको अर्थ तीन नेतामध्ये जसले जिते पनि कांग्रेसको कार्यकारी पद मानिने सभापतिमा ७० कटेका ‘बूढा’ नेताहरु नै पुग्नेछन् ।

प्रतिक्रिया