इन्धन अभावले जलविद्युत् आयोजनाको समय लम्बिने

mainचौतारा, १८ पुस । भूकम्प र भारतको नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ ।

२०६८ सालमा निर्माण सुरु भएको २२ दशमलव २ मेगावाटको आयोजना ०७२ कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए पनि भूकम्प र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि ०७३ कात्तिकमा मात्र सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले बताए । शिवश्री हाइड्रोपावरको ३ अर्ब रुपैयाँ लागतमा निर्माण सुरु गरी ०७१ को चैतमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक कारणले ७ महिनापछि सम्पन्न हुने लक्ष्य प्रक्षेपण गरिएको थियो । समय थपिँदै गएपछि सुरु लागतमा थप १ अर्ब बढ्ने आयोजनाले जनाएको छ ।

अरनिको राजमार्गको १ सय किमीमा पर्ने सिन्धुपाल्चोकको मार्मिङ गाविसको चाकु बजारदेखि आयोजना स्थलसम्मको ३० किमी प्रवेशमार्ग सम्पन्न भइसकेको छ । भूकम्पले विभिन्न ठाउँमा पहिरो लागेर सबै क्षति भएपछि पुनर्निर्माण गर्नुपरेको र इन्धन अभावले ५ किमी सडक निर्माण अझै बाँकी छ ।

त्यसैगरी ३३ सय मिटर भूमिगत सुरुङमध्ये इन्धन अभावकै कारण ६ सय मिटर सुरुङ खन्न बाँकी रहेको कार्यकारी निर्देशक कसजूले बताए । फुल्पिङकट्टी गाविसको चन्द्रपुमा बाँधबाँधी याङ्लेफाँटमा विद्युत् गृह निर्माण गरी आयोजना स्थलदेखि २२ किमी प्रसारण लाइन ल्याई लामोसाँघुको विद्युत् सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

त्यसैगरी ३६ मेगावाटको अपर बलेफीको हालै विद्युत् विकास विभागबाट विद्युत् खरिद बिक्री सम्झौता भएको छ । वानिङ डेभलप्मेन्ट प्रालिद्वारा ६ अर्ब रुपैयाँको लागतमा निर्माण हुने सो आयोजना ०७५ को चैतमा सम्पन्न गरिने लक्ष्य रहेको छ । गुम्बा गाविसको लिदीमा बाँध बाँधी ४ हजार ५ सय मिटर भूमिगत सुरुङद्वारा पानी ल्याई गोल्चे गाविसको वैकुण्ठेमा निर्माण हुने विद्युत् गृहमा खसालिने योजना रहेको अध्यक्ष कसजूले बताए । बलेफी–जलवीरे सडकबाट ३० किमी प्रवेशमार्ग निर्माण गरी आयोजनास्थलबाट २२ किमी लामो प्रसारण लाइनद्वारा लामोसाँघुस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया