‘जेष्ठ नागरिकको जीवन रक्षा गर’

काठमाडौं, १८ पुस । जाडो बढेसँगै जेष्ठ नागरिकहरूको बिचल्ली बढेको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघले जाडोकै कारण जेष्ठ नागरिकको मृत्युसमेत हुन थालेकाले उनीहरूको जीवन रक्षा गर्न सरकारसमक्ष माग गरेको छ ।

महासंघका अध्यक्ष डा. गौरीशंकरलाल दासले विज्ञप्ति जारी गर्दै यस्तो घटनाप्रति सम्पूर्ण सरोकारवाला निकायलाई गम्भीर हुँदै उनीहरूको जीवन सहज बनाउन उचित व्यवस्थापनका लागि माग गरेका छन् ।

महासंघले भूकम्पपीडित परिवारलाई वर्तमान चिसोलाई दृष्टिगत गरी न्यानो कपडाका लागि सरकारले निकासा गरेको १० हजार अविलम्ब हस्तान्तरण गर्न, पुनर्निर्माण प्राधिकरणले अस्थार्ई टहरामा बसोवास गरेका भूकम्पपीडित ज्येष्ठ नागरिकलाई लक्षित गरी ज्येष्ठ नागरिकमैत्री आवास निर्माण कार्य अविलम्ब थालनी गर्न, पुनर्निर्माणको चरणमा रहेका ज्येष्ठ नागरिकमैत्री आवास निर्माण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिलगायत अन्य सम्बन्धित निकायले जिल्लामा कार्यरत ज्येष्ठनागरिक संघसँग सहकार्य र समन्वय गर्नसमेत माग गरेको छ ।

यस्तै विज्ञप्तिमा महासंघले तराईका जिल्लामा बढी मात्रामा शीतलहरले कठ्यांग्रिएका ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन उचित खानपान, लत्ताकपडा, ओड्ने कम्बलजस्ता सामग्री वितरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलहरूको समेत ध्यानाकर्षण  गराएको छ ।

प्रतिक्रिया