पृथ्वीजयन्ती राजावादीको विलौना

काठमाडौं, १८ पुस । राजाबारे बोल्दा मन्त्रीबाट बर्खास्त हुने डर भएको भन्दै उद्योग राज्यमन्त्री मेघराज नेपालीले राजतन्त्रबारे चिन्ता जाहेर गरेका छन् । उनले २ सय ९४ औँ पृथ्वी जयन्तीका अवसरमा मन्त्रीले सहभागी हुन रोक लगाए पनि आफू हिम्मत गरेर सहभागी भएको बताए । राज्यमन्त्री नेपालीले भने, ‘यस्ता कार्यक्रममा आउन रोक लगाए पनि म हिम्मत गरेर आएको हुँ ।’

मन्त्रीको मुखमा पट्टी बाँधिएको भन्दै मन्त्री नेपालीले राष्ट्रिय एकताको प्रतिक पृथ्वीनारायण शाहाको योगदानबारे बोल्न आफू कार्यक्रममा आएको बताए । उनले भने, ‘केही मन्त्री तलैबाट भागे, यो देशमा ठूलो आन्दोलन क्रान्तिको आवश्यकता छ, यसका लागि प्रतिबद्धता जाहेर गर्न मन छ, तर मेरो मुखमा पट्टी बाँधिएको छ, मैले केही बोले भोलि उद्योग राज्यमन्त्री बर्खास्त हुन्छ ।’

२ सय ९४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले शनिबार आयोजना गरेको ‘श्री ५ पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य वक्ताहरुले बाइसे र चौबिसे राज्यमा टुक्रिएको नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा इतिहास विषय प्राध्यापक संघका अध्यक्ष प्रा डा सुरेन्द्र केसीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेर बनाएको संसारका १७ प्राचीनतम् देशमध्ये नेपाल एक भएको भन्दै पृथ्वीनारायण शाहले दरबारभन्दा रैती बलियो हुनुपर्छ भनेको उपदेश उनका उत्तराधिकारीले बुझ्न नसकेकाले नेपालमा राजसंस्थाको अन्त्य भएको बताए । उनले वर्तमान सरकारको आलोचना गर्दै अहिले पनि यो विषयलाई बिर्संदै ४६ सदस्यीय मन्त्रीमण्डल बनाएर राज्यकोष लुट्दै गरेको आरोप लगाए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री डा रामचन्द्र अधिकारीले पृथ्वीनारायण शाहको दिव्योपदेश र मार्ग चित्रअनुसार नचल्दा नेपालमा राजसंस्थाको अन्त्य भएको बताए । ‘जनतासँग राजसंस्थाको तादात्म्यता रहेन, अहंकार बढ्यो र पूर्वजका अर्ती उपदेश पनि बिर्सेकाले राजसंस्थाको अन्त्य भयो, संस्था अन्त्य भए पनि नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई नकार्न सकिँदैन’, उनले भने ।

प्रतिक्रिया