‘आइतबार सहमति हुन्छ’

prachanda_dahal copyविराटनगर, १८ पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग आइतबार सहमति हुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबार मोर्चासँग औपचारिक, अनौपचारिक वार्ता भएको र बेलुकी महन्थ ठाकुरसँग पनि यस विषयमा छलफल भएको जानकारी गराए ।

कांग्रेस, एमाले र मधेसी मोर्चाबीच आइतबार हुने वार्ताको विषय र प्राप्त निष्कर्षमा एमाओवादीको सहमति रहेको उल्लेख गर्दै उनले संशोधन प्रस्तावमा समझदारी बन्दै गइरहेको र वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रचलित कानुन वा जे राखे पनि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारेका थिए ।

उनले सीमांकनको विषय जटिल भएकाले यसलाई राजनीतिक वा संसदीय समिति बनाएर ३ महिनाभित्रमा सहमति गर्ने विषयमा मधेसी मोर्चालाई लचिलो हुन आग्रह गरे ।

४ महिनादेखि मुलुकको जनजीवन कष्टकर बनेको भन्दै अध्यक्ष दाहालले भूकम्पपीडित जाडोमा विलाप गरिरहेकाले यस समस्यालाई यथाशीघ्र समाधानका लागि मधेसी मोर्चालाई समस्या समाधानका लागि अग्रसर हुन आह्वान गरेका छन् । मधेसी मोर्चाको तर्फबाट नयाँ माग आइरहेको भन्दै उनले यस्ता मागका कारण बन्दै गइरहेको समझदारी बिग्रने सम्भावना सिर्जना हुन सक्ने विषयमा चिन्ता व्यक्त गरे ।

भारतले आपूmलाई संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्र्नुपर्छ वा धर्मनिरपेक्ष राख्नुहुन्न भन्ने विषयमा कहिले पनि सुझाव नदिएको स्पष्ट पार्दै उनले धार्मिक स्वतन्त्रताका साथै प्रलोभनमा पारेर धर्म परिवर्तन रोक्ने सम्बन्धमा सुझाव प्राप्त भएको जानकारी गराए । सरकारबाट मन्त्रीहरू फिर्ता गराउने हल्ला गलत रहेको भन्दै उनले भोलि पार्टीको बैठकमा सरकारको कामकाज र मन्त्रीहरूका बारेमा चर्चा हुने बताए । इटहरीमा शनिबार हुने कार्यक्रममा सहभागी हुन उनीसहित पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरू बिराटनगर आएका हुन् ।

प्रतिक्रिया