चैतअघि पार्टी घोषणा हुन्छ : डा. भट्टराई

काठमाडौं, १८ पुष । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका प्रमुख अभियन्ता डा. बाबुराम भट्टराई ०७२ सालभित्रमै नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने तयारीमा आफू रहेको बताएका छन् । उनले नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्न अहिले आफू सबै पक्षसँगको छलफलमा रहेको भन्दै आर्थिक विकासमा राजनीतिक हस्तक्षेप गर्न पनि पार्टीको रुपमा रुपान्तरण गर्नै पर्ने आवश्यकता औल्याए ।

डा. भट्टराईले भने, ‘मुलुकको आर्थिक विकासमा राजनीतिक रुपमा हस्तक्षेप नगरे त्यो अघि बढ्न सक्दैन । नयाँ पार्टीले बैकल्पिक शक्तिको रुपमा भ्रष्टाचार मुक्त भएर आर्थिक विकास र समृद्धिकोलागि काम गर्छ ।’ उनले एमाओवादीमा पुनः फर्किने सम्भावना खारेज गर्दै भने, ‘पुरानोले काम नलाग्ने भएकैले नयाँ शक्तिको आवश्यकता भएको हो । अब सबै नयाँ बन्नु आवश्यक छ ।’

डा. भट्टराईले समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरामा मोटामोटी सहमति बनिसकेको उल्लेख गर्दै मूल समस्या सीमांकनमा रहेकोले अहिले नै सहमति गरेर गए राम्रो हुने बताए । ‘सीमांकन तत्काल टुंग्याउँदा राम्रो हुन्छ । त्यसो गरे झगडाको बिऊ बाँकी रहँदैन,’ उनले भने, ‘सीमांकनमा धेरै छलफल भइसकेकोले यसलाई तत्काल टुङग्याउँदा राम्रो हुन्छ नभए मधेस आन्दोलन राजनीतिक दलको हातबाट अरुतिर जाने खतरा छ ।’

डा. भट्टराईले पहिलो संविधानको राज्य पुर्नसंरचन तथा राज्य शक्तिको बाडफाड समिति र सरकारले गठन गरेको राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनको वरिपरि रहेर खोजे समाधान निष्कनेसमेत सुझाए । उनले जनयुद्ध पनि वार्ता र संवादकै बाटोबाट टुंगिएको स्मरण गर्दै मधेस समस्या पनि शान्तिपूर्ण रुपमा संवादबाटै टुंगिने दाबी गरे ।

डा. भट्टराईले भने, ‘मधेसको समस्या छिटो समाधान गरेर समृद्धिको बाटोतिर लाग्नुपर्छ । मैले पनि आफ्नो तर्फबाट कुरा गरिरहेको छु । मैले आन्दोलनकारी र राज्य पक्षीय दलहरुसँग पनि कुरा गरिरहेको छु । कसैले जितेको वा हारेको अवस्था होईन त्यसैले यो बार्ता संबादबाटै समाधान हुन्छ ।’

भारतसँगको कटुता तत्काल अन्य गरेर सम्बन्ध सुधार गर्नु पर्नेमा जोड दिँदै उनले भारतसँगको सम्बन्धमा केही समय अवरोधमात्रै भएको उल्लेख गरे । उनले भने, ‘यूद्ध भएका देशहरुबीच त सम्बन्ध सुध्रन्छ हाम्रो केही समय अवरोध भएको अवस्था मात्रै हो । हामीले हाम्रो समस्या समाधान गरेर कुटनीतिक ढंगले सम्बन्ध सुधार्नु पर्छ । हाम्रो समस्या समाधान गरेर पनि स्थिति सहज भएन भने भारत दोषी हुन्छ ।’

डा. भट्टराईले नेपालको राजनीतिक अवस्थिति विशिष्ट किसिमको भएको भन्दै नेपालका दुई छिमेकी मुलुकहरु विश्वको आर्थिक महाशक्ति हुने तरखरमा रहेकोले नेपालले देशबीचको गतिशील पुल बनेर विकासमा अघि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया