नयाँ शब्दकोष आउँदै

काठमाडांै, १६ पुस । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको नयाँ शब्दकोष ल्याउने भएको छ । परिवर्तित र विकसित समाजसँगै नेपाली भाषामा शब्दहरूको भण्डार पनि फराकिलो बन्दै गएकाले ती सबैलाई समेटेर नयाँ शब्दकोष ल्याउन लागेको प्रतिष्ठानले जनाएको छ । सो शब्दकोषमा करिब ४० हजार नयाँ शब्द संकलन गरिएको बताइएको छ । नेपाली बृहत् शव्दकोषमा थप नयाँ शब्दसहित नेपाल प्रज्ञा प्रतिष्ठानले १ लाखभन्दा बढी शव्दहरू नयाँ नेपाली बृहत् शब्दकोष प्रकाशन गर्ने तयारी गरेको छ ।

प्रतिष्ठानका प्राज्ञ सदस्य डा हेमांगराज अधिकारीका अनुसार ०७२ सालमा संशोधनसहित पुनर्मुद्रण गरिएको नेपाली बृहत् शव्दकोषमा ६० हजार शब्द छन् । तर, समाजको आधुनिकीकरण र विकाससँगै नेपाली भाषामा नयाँनयाँ शब्दहरूको प्रयोग भइरहेकाले ती सबैलाई समेटेर बृहत् नेपाली शब्दकोषमा नयाँ शब्दहरू समेट्न लागिएको हो । ‘मानिस आधुनिकीकरण हुँदै जाँदा भाषाको त्यही रूपमा विकास हुँदै जान्छ । अहिलेको शव्दकोषले सबैलाई समेटेको छैन । हामीले प्रयोगमा आएका सबै समेट्ने गरी तयारी गरेका छौँ’ अधिकारीले भने ।

०१४ सालमा नेपाल प्राज्ञ प्रतिष्ठान स्थापना भएपछि ०१९ सालमा पहिलोपटक प्रतिष्ठानका तर्फबाट नेपाली शब्दकोष निकालिएको थियो । जसमा करिब ३० हजार शब्द थिए । त्यसैगरी दोस्रोपटक ०४० सालमा निकालिएको बृहत् शब्दकोषमा करिब ६२ हजार शब्द थिए ।

अधिकारीका अनुसार ०५५ सालपछि सामान्य रूपमा केही शव्दहरूको थपघट तथा संशोधन गरेर नयाँ नेपाली बृहत् शव्दकोष प्रकाशन गरिएको भए पनि त्यसमा चलन चल्तीमा रहेका सबै शव्दहरू समेटिएका छैनन् । चलन चल्तीमा रहेका शब्दहरूलाई समेट्नुपर्ने अहिलेको आवश्यकता हो । पछिल्लो समयमा भएको राजनीतिक घटनाक्रम, विज्ञान प्रविधि, सूचना सञ्चार र समाजको विकाससँगै नेपाली भाषामा नयाँ शव्दहरूको प्रयोग हुँदै आएको छ । तर, प्रतिष्ठानबाट प्रकाशित बृहत् नेपाली शव्दकोषले ती सबैलाई समेटेको छैन ।

१ लाख शव्द पु¥याउनका लागि विभिन्न भाषिकाबाट शव्दहरू थपिनेछन् भने अन्य मातृभाषाबाट नेपालीमा चलेका शव्दहरू पनि थप गरिनेछ । त्यसैगरी नेपाली बृहत् शव्दकोषमा नभएका तर व्यवहारमा प्रयोग भएका नयाँनयाँ शव्दहरू समेटिनेछ । १ लाखभन्दा बढी शव्दसहितको नयाँ नेपाली बृहत् शव्दकोष निकाल्ने योजना भए पनि आवश्यक प्राविधिक जनशक्तिको अभावले सोचे जसरी काम हुन नसकेको अधिकारीले बताए । उनका अनुसार नेपाली भाषाको शब्दको श्रोत संस्कृत हो । तर, विभिन्न भाषाभाषीसँगको सम्पर्कले नेपाली भाषामा शव्दको विकास हुँदै गएको हो । मगर, मैथली, भोजपुरी, अवधिलगायत नेपालमा बोलिने मातृभाषाहरूबाट समेत नेपाली भाषामा शव्दको विकास भएको अधिकारीले बताए ।

जुम्लाको सिंजाबाट सुरु भएको नेपाली भाषाको थप विकास पश्चिम नेपालको भेरी र राप्तीका मगरबस्तीहरूमा भएको मानिन्छ ।

प्रतिक्रिया