चार महिनादेखि यातायात कार्यालय ठप्प

काठमाडौं, १४ पुस । करिब चार महिनादेखिको मधेस आन्दोलनले गर्दा वीरगञ्ज, जनकपुर र लाहानका यातायात कार्यलयको काम ठप्प छ । संविधानको विषयलाई लिएर लामो समयदेखि चलेको आन्दोललने यस क्षेत्रका सेवाग्राही मर्कामा परेको विभागले जनाएको छ । कार्यालय बन्द भएको ४ महिना हुँदा पनि त्यस क्षेत्रका सेवाग्राहीले सहज रूपमा कुनै पनि काम गर्न नपाएको विभागले जनाएको छ ।

कार्यालय समयमा सहजरूपमा कार्यालय खोलेर काम गर्ने वातावरण नभए पनि कार्यालयका कर्मचारीले जोखिम मोलेरै भए पनि विहान र बेलुकाको समयमा अत्यावश्यक काम भने गरेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीका अनुसार ४ महिना देखि यी तीनवटै कार्यलयबाट हुने काम ठप्प रहेको छ । उनले भने ‘आन्दोलन सुरु भएदेखि अहिलेसम्म यी कार्यलयबाट एक जना पनि सेवाग्राहीले नयाँ लाइसेन्स लिन पाएका छैनन् ।’

उनका अनुसार यो कार्यालयबाट सेवा लिइरहेका सेवाग्राहीले लाइसेन्सबाहेक सवारी नामसारी, ब्लु बुक लिन पाएका छैनन् । उनले भने ‘कहिलेकाही केही सहज भएको दिन विहान र बेलुकाको समयमा मात्र लाइसेन्स नवीकरण र सवारी कर भने बुझाएका छन् ।

लाइसेन्स लिनको लागि व्यक्ति स्वयम आफै कार्यलयमा उपस्थित हुनुपर्ने र नामसारी गर्नका लागि सवारी साधन यातायात कार्यालमा नै लैजान पर्ने हुँदा पनि यो कार्य ठप्प भएको उनले बताए । ‘सवारी वार्षिक कर र नवीकरण भने नेपालको जुनसुकै कार्यालयबाट पनि प्रदान गरिने हुँदा सेवाग्राहीले आफूलाई सहज हुन ठाउँबाट सेवा लिन सक्छन’ अधिकारीले भने ।

यदी कुनै सेवाग्राहीको ब्लू बुक, लाइसेन्स हराएमा भने सम्बन्धित कार्यालयबाट नै लिनु पर्ने हुँदा सेवाग्राहीलाई समस्या रहेको उनले सेतोपाटीसँग बताए । ‘यतिका समय हुँदा पनि यस क्षेत्रका सेवाग्राहीबाट गुनासो भने आएको छैन।’ अधिकारीले भने ।

यातायात विभागका प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म यातायात कार्यालय एकान्तकुनाबाट ३ सय सवारी चालकले स्मार्ट लाइसेन्स लिईसकेका छन् । त्यस्तै १४ सय जना भने ट्रायल पास भई लाइसेन्नस लिने प्रक्रिमा रहको उनले बताए । यसै साता ६ सय जनाले पनि स्मार्ट लाइसेन्स लिने अधिकारीले बताए ।

उनले भने ‘अझ एक देखि दुई सातासम्म नवीकरण गर्नेले भने स्मार्ट लाइसेन्स पाउने छैनन् ।’ उनका अनुसार पहिलो चरणमा बाग्मती अञ्चलको कार्यालयबाट पूर्णरूपमा स्मार्ट कार्ड लागू गर्दै देशभरि २ देखि ५ वर्ष भित्रमा सबै सवारी चालको हातमा स्मार्ट लाइसेन्स पुग्नेछ ।

प्रतिक्रिया