कुपोषण अन्त्य गर्न अभियान

काठमाडौं, १४ पुस । पाँच वर्षमुनिका बालबालिकाको हुने शीघ्र कुपोषणको अन्त्य गर्न एसिएफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा मंगलबार देखि अभियान सुरु भएको छ । बालबालिकाको मृत्युको प्रमुख कारकको रुपमा रहेको शीघ्र कुपोषण अन्त्य गर्न एसिएफले अन्य ४० वटा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर यो संयुक्त रूपमा ‘जेनेरेसन न्युट्रिसन’ नामक अभियान सुरु गरेको हो ।

पछिल्लो जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ती उमेर समूहका करिब चार लाख ३० हजार बालबालिका कुनै न कुनै रूपमा कुपोषणबाट प्रभावित भएको देखाएको छ । तीमध्ये दुई लाख ९० हजार बालबालिका त शीघ्र कुपोषणबाट ग्रसित छन् । नेपाली बालबलिकालाई पूर्णस्तनपान, पूरक खाना, स्वास्थ्य सेवामा पहुँच, खानामा पोषक तत्वको अभावजस्ता कारणले शीघ्र कुपोषणको मात्रा बढी हुँदै गएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । शिशुको शरीरअनुसारको तौल र उचाइ नभई ख्याउटेपन हुनुलाई शीघ्र कुपोषण भन्ने गरिन्छ ।

पाँच वर्षमुनिका बालबालिकालाई कुपोषणका कारण हुने मृत्युबाट जोगाउन सबै किसिमका काम गर्न सरकार र सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग गर्ने दतृ निकायको ध्यानाकर्षण गराउनु अभियानको ध्येय रहेको छ । साथै शीघ्र कुपोषणलाई जनस्वास्थ्यको समस्याका रूपमा पहिचान गर्दै आवश्यक स्रोत साधन परिचालन गर्न पैरवी गर्ने पनि लक्ष्य रहेको छ । नेपाल सरकारले कुपोषण अन्त्य गर्न बहुक्षेत्रीय पोषण योजना तयार गरी लागू गरिरहेको छ । सो योजनालाई स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, कृषि विकासलगायत आठ मन्त्रालयले कार्यान्वयन गरिरहेका छन् । चालु आवमा सरकारले १० करोड रुपैयाँ सो योजनाका लागि विनियोजन गरेको छ ।

कुपोषणसम्बन्धी सहस्राब्दी विकास लक्ष्य हासिल गर्नका लागि पोषणमा लगानी वृद्धि गर्न अभियानले जोड दिएको छ । एसिएफ नेपालका कार्यक्रम निर्देशक मार्टिन रोसेलटले शीघ्र कुपोषणको समस्यालाई राजनीतिक बहस बनाउन आवश्यक भएको बताए । यस्तै स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले बालस्वास्थ्यको समस्याका रूपमा रहेको कुपोषणलाई अन्त्य गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेकामा जोड दिएका छन् । उनले खाना खाने व्यवहार तथा पौष्टिक खाना खानुपर्छ भन्ने सचेतना समुदायसम्म पु¥याउन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगका वरिष्ठ कार्यक्रम निर्देशक राधाकृष्ण प्रधानले पोषणमा सरकारी लगानी वृद्धि भइरहेको र विकासका योजनामा पोषणले स्थान पाउन सुरु गरेको बताए । पोषणविज्ञ अनिरुद्ध शर्माले शीघ्र कुपोषणलाई हटाउन पोषणयुक्त खानामा जोड दिनुपर्छ भन्नुभयो । अभियानले समुदायस्तरमा पोषणका बारेमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

प्रतिक्रिया