हेलो सरकारमा गुनासै गुनासो :

काठमाडौं, १४ पुस । जनताको गुनासो सुन्नका लागि स्थापना गरिएको हेलो सरकारमा सबैभन्दा बढी गुनासो कालोबजारी बढेको र नियन्त्रण गर्न सरकार असफल भएकामा केन्द्रित रहेको देखिएको छ ।

भारतको अघोषित नाकाबन्दीपछि मुलुकभित्र पेट्रोलियम पदार्थको आयात कम भएको, खाद्यान्न सामग्रीको मौज्दात रहे पनि बढी मूल्य लिएर बिक्री वितरण गरेको गुनासो जनताले गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना भएको हेल्लो सरकारमा गत मंसिर महिनामा आएका गुनासोलाई मात्रै हेर्ने हो भने कालोबजारीमा सम्बन्धमा आएका गुनासो नै बढी रहेको पाइएको हो ।

नागरिकले सार्वजनिक सेवा समयमा नपाएको, सेवामा विभेद भएको, अतिरिक्त शुल्क लिएको, सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयले जनतालाई सेवा दिनेभन्दा पनि जिम्मेवारी पन्छाउने, आलटाल गर्ने तथा कर्मचारी नै जिम्मेवार नबनेको गुनासो बढी आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव श्रीधर सापकोटाले जानकारी दिए ।

पेट्रोलियम पदार्थ सहजरूपमा नपाइएको, खाना पकाउने ग्यास पहुँच भएका व्यक्तिले मात्रै लिएको तथा वितरण प्रणाली पारदर्शी नबनाइएको तथा गरिब आधारभूत तहका जनताले बढ्ता दुःख पाएको गुनासो आएको उनको भनाइ छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयभन्दा बढी समय विद्युत्भार कटौती गरेको, नेपाल टेलिकमको सेवाको गुणस्तर नभएको गुनासो पनि बढी मात्रामा आएको पाइएको छ । गत मंसिर महिनामा ५ सय ६८ गुनासा आएका र तीमध्ये ३ सय ७८ अर्थात् ६६ दशमलव ५५ प्रतिशत गुनासो सुनुवाइ भएको छ । हेलो सरकारमा प्राप्त भएका गुनासा मध्ये १० वटा निकायले कुनै पनि गुनासो सम्बोधन गरेका छैनन् । ती निकायमा ऊर्जा, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, विज्ञान प्रविधि, संघीय मामिला तथा स्थानीय विकास, सिँचाइ र सहरी विकास मन्त्रालय छन् । पटकपटक ती निकायलाई गुनासो सम्बोधन गर्न आग्रह गरिए पनि अटेर गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

हेलो सरकारमा प्राप्त भएका गुनासामध्ये विभिन्न ७ निकायले शतप्रतिशत गुनासो सम्बोधन गरेका छन् । ती निकायहरूमा कृषि विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महिला बालबालिका तथा समाजकल्याण, स्वास्थ्य, सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय सतकर्ता केन्द्र र उच्च माध्यमिक शिक्षा परिषद् रहेका छन् ।

०६८ कात्तिकबाट सुरु भएको हेलो सरकारमा हालसम्म ४१ हजार ३ सय ६२ गुनासो प्राप्त भएकामा ३७ हजार ३ सय १४ अर्थात् ९० दशमलव २१ प्रतिशत गुनासो सम्बोधन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी गुनासो गृह मन्त्रालयको प्राप्त भएको जनाएको छ । सो मन्त्रालयसँग सम्बन्धित ७ हजार २ सय ४७ गुनासो प्राप्त भएको छ ।

यस्तै शिक्षा मन्त्रालयको ४ हजार ६ सय ९८, संघीय मामिला तथा तथा स्थानीय विकास मन्त्रालयको ३ हजार ८५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २ हजार ६ सय ३६, नेपाल विद्युत् प्राधिकरणको २ हजार ४९, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ हजार ८ सय १० गुनासो प्राप्त भएको छ ।

प्रतिक्रिया