फेरि बढ्यो लोडसेडिङ

काठमाडौं, १० पुस । नदीमा जलप्रवाह घटेकाले विद्युत उत्पादन पनि घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले आज (शुक्रबार)बाट लोडसेडङको समय थप गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घन्टा विद्युतभार कटौती हुँदै आएकोमा आजदेखि ७७ घन्टा कटौती हुनेछ । प्राधिकरण आजै नयाँ लोडसेडिङ तालिका पनि सार्वजनिक गरेको छ । प्राधिकरणले एक साता अघि मात्रै लोडसेडिङ बढाएर दैनिक दश घन्टा पु-याएको थियो ।

123मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको समयमा नदीमा पानीको प्रवाह कम भएको छ । ७८० मेगावाट क्षमतामध्ये हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ३०० मेगावाट मात्रै विद्युत उत्पादन हुँदै आएको छ । यस्तै भारतबाट दैनिक २३५ मेगावाट विद्युत आयात हुँदै आएको छ । भारतको अघोषित नाकाबन्दीपछि दैनिक विद्युतको माग बढेर हाल एक हजार ३०० मेगावाट भन्दा बढी पुगेको छ । साँझ र बिहानको खाना पकाउने समयमा विद्युतको माग अझ बढी रहेको छ ।

प्राधिकरणले सञ्चालनमा रहेका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने र चुहावट भएका क्षेत्रमा चुहावट नियन्त्रण गर्ने कामलाई अभियानात्मक रुपमा सञ्चालन गरेपनि प्रभावकारी हुन सकेको छैन । चुहावट बढी हुने क्षेत्रमा भने थप विद्युत कटौती हुने भएकाले चुहावट नियन्त्रण गर्न प्राधिकरणले सम्बद्ध पक्षसँग सहयोगको अपिल गरेको छ । निकट भविष्यमा नै ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ९० मेगावाट विद्युत आयात हुने भएकाले विद्युतभार केही घट्न सक्ने प्राधिकरणले जनाएको छ । सरकारले एक वर्षभित्र विद्युतभार कटौती अन्त्य गर्ने घोषणा गरे पनि दैनिक ११ घन्टा कटौती हुन थालेपछि चिसो मौसममा उपभोक्ता थप मारमा परेका छन् ।

इन्धनको अभावमा खाना पकाउने समयमा झन् समस्या थपिने देखिन्छ । हालको तालिकामा पनि बिहान तथा बेलुकाको समयमा विद्युत मिलाएर काट्ने व्यवस्था गरिएको भार पे्रषण केन्द्रले जनाएको छ । तर राजधानीलगायत सहरी क्षेत्रमा भने विद्युतको अत्यधिक माग हुँदा ट्रान्सफर्मर जल्ने, कन्डक्टरमा समस्या आउने गरेको छ । नाकाबन्दीपछि मात्रै ५३० भन्दा बढी ट्रान्सफर्मर जलेका छन् । जलेका ट्रान्सफर्मर मर्मत गर्न जनशक्तिको अभावमा दैनिक दुईवटा मात्रै मर्मत हुने गरेको छ ।

प्रतिक्रिया