कुकुर छिराएकाले गंगाजल छर्किएको उपेन्द्रको दाबी

काठमाडौं, ६ पुस । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भ्रमणका क्रममा जानकी मन्दिरभित्र कुकुर छिराएकाले गंगाजल छर्किएको दाबी गरेका छन् । मधेसी मोर्चामा आवद्ध एक घटक फोरमका नेता यादवले आफ्नो पार्टी निकट संघीय प्रेस युनियनका पदाधिकारीहरुसँगको भेटमा यस्तो बताएका हुन् । उनले जानकी मन्दिरमा राष्ट्रपति प्रवेश गरेकाले शुद्धीकरण गरिएको नभइ कुकुरलाई प्रवेश गराइएकोले यस्तो गर्नु परेको स्पष्टिकरण दिएका हुन् ।

विवाह पञ्चमीका अवसरमा हालै मात्र राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर गएपछि राष्ट्रपति विधुवा भएको र उनी जाँदा मन्दिर अशुद्ध भएको भन्दै मन्दिर चोख्याएको तर्क आइरहँदा यादवले भने कुरा तर्काएका छन् । चौतर्फी आलोचना भएपछि मधेसी मोर्चाका नेताहरुले अहिले भने सुरक्षाकर्मी जुत्ता लगाएर गएको र कुकुर समेत लगेकाले चोख्याइएको दाबी गरेका गर्न थालेका हुन् । फोरम नेपालका अध्यक्ष यादवले पनि राष्ट्रपति विद्या भण्डारी प्रवेश गर्नाले भन्दा पनि कुकुर छिराएर जथाभावी सुगाएको र ¥याल चुहिएकाले मन्दिर शुद्ध गर्न गंगाजल छर्किएको बताएका छन् ।

साथै, उनले छालाको बुटसहित सेना र प्रहरी कुकुरसहित छिर्नुलाई साँस्कृतिक अतिक्रमणको संज्ञा दिएका छन् । ‘कुनैपनि मठमन्दिरमा जुत्तालगाएर कुकुर प्रवेश गर्न पाइँदैन’ उनले भने, ‘तर, बुटसहित सेनाले कुकुरलाई मन्दिरभित्र लगेको छ । यसैले गर्दा गंगाजल छर्किइएको हो ।’

विधवा महिलालाई जानकी मन्दिरमा पूजापाठ गर्न आजसम्म वञ्चित नगरिएको भन्दै उनले विधुवा भएकै कारण गंगाजल छर्किएको विषयलाई उछाल्नु वाईयात भएको टिप्पणी गरेका छन् । विधुवा भएकैले गंगाजल छर्किएको भन्नु वाईयात कुरा भन्दै उनले यस्को खण्डन गरेका छन् । उनले भने, ‘मन्दिरमा पूजा गर्न विधुवालाई पनि कसैले रोक्न मिल्दैन ।’

प्याकेजमै सहमति

अध्यक्ष यादवले जारी राजनीतिक संकटको समाधान ‘प्याकेज’मै गर्नु पर्ने बताएका छन् । सत्तापक्ष र विपक्षी कांग्रेससँग प्याकेजमै सहमति गरी समाधान निकाल्न छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् । संसद बैठक आगामी शुक्रबारसम्म स्थगन गरिएको भए तापनि मधेस समस्याको समाधान सरकारको ‘मुड’मा भर पर्ने उनले बताए । ‘संशोधन विधेयक अमूर्त छ,’ यादवले भने, ‘कसका लागि ल्याइएको हो ? कसले फाइदा पाउने हो ? यसमा स्पष्ट छैन ।’

युनियनका अध्यक्ष गोविन्द छन्त्यालको नेतृत्वमा पुगेको टोलीलाई वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले अधिकारको जारी आन्दोलनबारे केही मिडियाले गलत सूचना दिइरहेको बताए ।

प्रतिक्रिया