रजत विजेता रुजेश सम्मानित

काठमाडौं । सातौँ विश्व शारिरिक सुगठन प्रतियोगितामा ऐतिहासिक उपलब्धी हासिल गरेका रुजेश शाहीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित कार्यक्रममा रुजेशलाई २ लाख १० हजार रूपैयाँ र सम्मान पत्रबाट सम्मान गरियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले रुजेशलाई रकम बराबरको चेक र सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

कुल रकम मध्ये शारीरिक सुगठन संघले २० हजार, संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ५० हजार, महासचिव दिनेश राजभण्डारी, कोषाध्यक्ष सागर वगाले, सदस्य सुनील राजकर्णिकार र सदस्य मोहनकृष्ण श्रेष्ठले समान २०–२० हजार तथा सचिव राजन श्रेष्ठ र सदस्य वकिलमाल तुलाधर उदासले समान १०–१० हजार नगद पुरस्कार उपलब्ध गराएका थिए । त्यस्तै डिभाइन फिजिकल फिट्नेस सेन्टर, कालिमाटी, न्यु गोल्ड्स जिम, ललितपुर, सुनीता प्रधान तथा इरेन श्रेष्ठले समान १०–१० हजार प्रदान गरे ।

थाइल्यान्डको बैंककमा मंसिर ८ देखि १४ गतेसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमा रुजेशले रजत पदक जितेका थिए । उक्त पदक नेपाली शारीरिक सुगठनको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो । ०६७ सालमा भारतको बनारसमा भएको दोश्रो संस्करणमा श्याम श्रेष्ठले कांस्य जितेका थिए ।

रुजेशले प्रतिस्पर्धा गरेको तौलसमूहमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा भारतले पहिलो स्थान हात पारेका थियो भने चीन तेश्रो भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले विश्व च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगितामा सहभागी हुन आफैमा ठूलो कुरा भएको बताउदै त्यसमा पनि पदक जित्नु गर्वको विषय भएको बताए । सदस्य–सचिव विष्टले दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीका लागि पुरस्कारको राम्रै व्यवस्था भएपनि अन्य च्याम्पियनसिपका लागि न्यून पुरस्कार भएको बताउदै उचित पुरस्कारका लागि परिषद्ले तयारी गरिरहेको बताए । (सौस)

प्रतिक्रिया