वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस

Kosh-raj-Wantaकाठमाडौं, २ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सरकारकालाई सिफारिस गरेको छ । सामान खरिद गर्दा अनियमितता गरिएको र खरिद गरिएको भनिएका सामान ढुवानी नलिई झन्डै ३ करोड रूपैयाँ रकम भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।

आइजिपी वन्तलाई भ्रष्टाचार गरेको भन्दै २ वर्षअघि नै उजुरी परे पनि कुनै सुनुवाई भएको थिएन । अख्तियार प्रमुख लोकमान सिंह कार्की र आइजिपी वन्तबीच राम्रो सम्बन्ध रहेको श्रोतले बताएको छ । सोही सम्बन्धका कारण वन्तमाथिको उजुरीमा कारवाही नगरेको अख्तियार प्रमुखलाई आरोप लाग्दै आएको थियो ।

यसपटक भने अख्तियार प्रमुख कार्कीकै पहलमा अनुसन्धान थालिएको अख्तियार श्रोतले बताएको छ । अख्तियारका अनुसार प्रारम्भिक अनुसन्धानमा वन्तले भ्रष्टाचार गरेको देखिएको र वन्त सशस्त्रको प्रमुखमा रहिरहँदा सवुद प्रमाणहरू नष्ट पार्न सक्ने भन्दै निलम्बनका लागि सरकारलाई सिफारिस गरेको हो ।

सशस्त्रका प्रमुख वन्तसँगै उनको निर्णयलाई सघाउने सशस्त्रका २ डिएसपी र १ इन्सपेक्टरसमेत निलम्बनमा परेका छन् । निलम्बनमा पर्ने डिएसपीहरूमा सुमनजंग थापा, रामकृष्ण महर्जन र इन्सपेक्टर विनबहादुर थापा रहेका छन् ।

सशस्त्रका लागि आवश्यक सामान खरिद गर्दा नक्कली बिल भर्पाई पेस गरेको र टेन्डर अनुसारको सामान खरिद नगरेको वन्तलाई आरोप छ । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

०७० असारमा आइजिपी वन्तको सम्पत्ति रोक्का गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको भए पनि कारवाहीअघि बढेको थिएन । एक चिनियाँ कम्पनीसँग टियर ग्यास खरिद गर्दा पनि वन्तले ठूलो रकम अनियमितता गरेको बताइएको छ । सशस्त्रको आर्थिक प्रशासन शाखाका पूर्वएसएसपी चिरञ्जीवी अधिकारी र एसपी श्यामकाजी कुँवरको खाता रोक्का राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो । वन्तमाथि पेट्रोलपम्प तथा कल्याण शाखाको हिसाबकिताब पनि अस्तव्यस्त बनाएको पनि आरोप छ ।

उनले यसरी कमाएको सम्पत्ति अस्ट्रेलिया पठाउने गरेको श्रोतको दाबी छ । अख्तियार सूत्रका अनुसार वन्तले नेपालमा भ्रष्टाचार गरेर कमाएको सम्पत्ति अस्ट्रेलियामा रहेकी आफ्नी भाउजूका नाममा पठाउने गरेका थिए । सोही पैसा भाउजूले उताबाट हुन्डी गरेर नेपाल पठाउने गरेकी छिन् ।

आपैmँले अनुचित कार्य गरेर अस्ट्रेलिया पठाएको पैसा हुन्डीमार्फत आएको ‘भाउजूको कमाइ’ भन्दै किस्ट मेडिकल कलेजमा वन्तले लगानी गरेको उजुरी अख्तियारमा परेको हो । वन्तले हुन्डीबाट ल्याएको पैसा लगानी गरेको भनिएको किस्ट मेडिकल कलेजमा लोकमानसिंहका सहोदर भाइ बालमानसिंह कार्कीको समेत लगानी छ । प्रोफेसर डा. वालमानसिंह किस्टका प्रिन्सिपल छन् ।

किस्ट कलेजमा वन्तको पैसा लगानी भएको भन्दै अख्तियारमा परेको उजुरी लामोसमय थन्किए पनि पछिल्लो समयमा अख्तियार प्रमुख कार्कीकै पहलमा वन्तलाई निलम्बनको कारवाही सिफारिस भएको छ । यद्यपि वन्तलाई गरिएको निलम्बनको सिफारिसमा किस्ट मेडिकल कलेजमा वन्तको लगानीका सम्बन्धमा भने अख्तियारले विज्ञप्तिमा केही पनि खुलाएको छैन । यसमा किस्ट कलेजको नाम लिँदा लोकमानका भाइको समेत नाम जोडिन सक्थ्यो । वन्त सशस्त्र प्रहरी आइजिपीमा ०६८ चैत २९ गते बुधबारका दिन नियुक्त भएका हुन् । ०४६ पुस ४ गतेबाट दिन उनी इन्स्प्ेक्टरबाट नेपाल प्रहरीमा भर्ती भएका थिए । ०५८ फागुन ९ गते सशस्त्र प्रहरीमा उनी एक तह बढुवा भएर गएका थिए ।

प्रतिक्रिया