कारबाहीमा २९ जना सशस्त्र आतंककारी मारिए

काबुल । अफगान प्रहरीका एक समूहले गत २४ घन्टाभित्र शृंखलाबद्ध रूपमा गरेको कारबाहीको क्रममा १० सशस्त्र तालिवान आतंककारी मारिएको अफगान गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीमा अफगान सेनाको पनि सहयोग रहेका जनाइएको छ ।

अफगानिस्तानको कुन्दुन्ज, फर्याब कान्दाहार ओरुजगान, पाक्टिका र हेलमान्ड प्रान्तमा जारी कारबाहीमा ती आतंककारीहरू मारिएको जनाइएको छ ।

यस कारबाहीको क्रममा अफगान प्रहरीको सो समूहले हातहतियारहरू कब्जा गरेको पनि जानकारी दिइएको छ ।

कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने हताहतिको कुनै समाचार नभएको जनाइएको छ । अफगान सरकारसँग युद्धरत तालिवान आतंककारी समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार अफगानिस्तानको गजनी प्रान्तमा सुरक्षा बल र तालिवान आतंककारीबीच भएको झडपमा १९ आतंककारी मारिएको प्रान्तीय प्रवक्ता मोहमद इब्राहिम आमिरले बताएका छन् ।

ती आतंककारीहरूमा समूह कमान्डरसमेत मारिएका जनाइएको छ । तालिवान समूह कमान्डर मुल्लाह नस्रातुल्लाहसहित १९ विद्रोहीको मृत्यु भएको आमिरले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

प्रतिक्रिया