चिसोले कठ्यांग्रिदै भूकम्पपीडित

angar photoसिन्धुपाल्चोक, २७ मंसिर । सिन्धुपाल्चोकको चौतारा–९ का ८६ वर्षीय रणबहादुर भुजेललाई यस वर्षको जाडो कटाउन गाह्रो परेको छ ।

वरिपरि खुला रहेको जस्ताको टहरामा एउटा गुन्द्री र पातलो ओढ्नेको भरमा रात गुजार्नु पर्दा चिसोले यस वर्षको हिउँद कटाउन गाह्रो भएको हो । हुप्प सुन्निएकोे मुहार, आँखाभरि कचेरा, कान कम सुन्ने र पक्षघातका रोगी एकल पुरुष भुजेललाई सरकारले न्यानो कपडा किन्न १० हजार दिने कुरासमेत थाहा नभएको बताउँछन् ।

‘यो वर्षको जाडो कटाउन ज्यादै मुस्किल पर्ने भो, बाँचिन्न कि क्या ?’ उनी मसिनो आवाजमा प्रश्न गर्छन्, ‘भुइँचालोले यस्तो हविगत गरायो ।’ गाउँमा विभिन्न संस्थाले दिएको मण्डीसमेत आफूहरूले नपाएको उनको परिवारले गुनासो गरेका छन् । मगुवा गाउँका ८३ वर्षीय कालु गुरुङको पनि उनकै जस्तो हविगत रहेको छ । कान नसुन्ने गुरुङ त्रिपालको भरमा रात गुजार्न विवश छन् ।

२५ वर्षको उमेरमा श्रीमान् गुमाएकी ठूलोसिरुवारी–४ पाँचमुरेकी ५१ वर्षीया चिनीमाया तामाङको कष्ट भनीसाध्य छैन । जस्ताको टहरामा चारैतिर चिसो र भुइँ झनै चिसो भएपछि रात कटाउन ज्यादै कठिन भएको बताउँछिन् । छोराबुहारी र नातिनातिनासहित ५ जनाको परिवारसँगै बस्दै आएकी तामाङ गुनासो गर्छिन् ‘सरकारले घर बनाउन दिने भनेको रकम कहिले दिने हो पत्तो छैन । न्यानो कपडा किन्न दिने भनेको १० हजार पनि जाडो सकिएपछि मात्र दिने हो कि ?’ यिनीहरू मात्र नभई जिल्लाका करिब ८० हजार परिवारको यस्तै व्यथा र पीडा रहेका छन् ।

१२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा बढी धनजनको क्षति भएको छ । जिल्ला दैवीप्रकोप उद्दार समितिका अनुसार यस जिल्लामा ३ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । जसमा पुरुष १ हजार ५६, महिला १ हजार ५५, बालक ४ सय ४३ र बालिका ५ सय १२ छन् । त्यस्तै १ हजार ५ सय ६९ जना घाइते भएका छन् ।

यसैबीच, नेपाल सरकारले न्यानो कपडा किन्न १० हजारका दरले दिने भनिएको ७० करोड बजेट निकासा भएको छ । सो रकम भूकम्पपीडितलाई वितरण गर्न सोमबारदेखि गाविसमा निकासा पठाइने सहायक सिडिओ भरतप्रसाद आचार्यले जानकारी दिए । पछिल्लो जनगणनाअनुसार सिन्धुपाल्चोकमा ६६ हजार ३ सय घरधुरी रहेका छन् । भूकम्पपीडित परिचयपत्र बनाउने ८४ हजारलाई १५ हजार रुपैया राहत वितरण गरिएको सन्दर्भमा अहिले झन्डै १४ करोड रुपैयाँ घटी निकासा आएको छ । रकम कम आएकाले वितरण गर्न समस्या भएको सहायक सिडिओ आचार्यको भनाइ छ ।

प्रतिक्रिया