अख्तियारको भूत

Mohan Prasad Sapkotaमायाप्रेम र लगाव पनि राजनीतिमा समय सापेक्ष बनाइँदो रहेछ, बन्दो रहेछ । सबै दल र तिनका अनुयायी कुनै दिन मोदीप्रति हुरुक्कै भए । दिन बित्दै गयो तिनै मोदीलाई यही देशको एक भागले देवता र अर्को भागले दानव मान्न थाल्यो । सायद विश्वमा विभिन्न धर्महरू र आस्थाहरू यसरी नै चोइटेका होलान् ।

कुनै दिन दलको इच्छा बमोजिमका व्यक्तिलाई अख्तियारले खेदेर समाउँदा सबै जसो ताली बजाउँथे । वाहवाही गर्दथे । लोकमान व्यक्ति विशेष हो । अख्तियार प्रमुख एउटा पद हो । लोकमानहरूले पूर्वाग्रह राखेको भनेर अख्तियारलाई बेलाबेलामा किन कमजोर बनाउने गरिन्छ ? त्यो पनि अख्तियारसँग राजनीति मुछिएर आउँदा मात्र, यस्तो हुने गर्दछ । चोरको खुट्टा कुहिन्छ भनेर कसैले भन्यो भन्दैमा हत्त न पत्त खुट्टा उचालेर मलमपट्टि गरि हाल्नु पर्दछ र ? कतै पूरै राजनीति त कुहिएको छैन ?

विगतमा पनि दलभित्रकालाई समाउँदा त्यो दल, अझ त्यसमा पनि समाउन सक्ने सम्भावना भएका तर नसमाइएका नेताहरू, आफ्नो पनि पालो आउला कि भनेर तर्सेर बुर्लुक्कबुर्लुक्क उफ्रने गरे । नैतिकताले सञ्चालित राजनीतिले गैरकानुनी क्रियाकलापलाई छोप्न खोज्दैन । अन्डरवेयरमा दिसा चुहिए गनाउँछ नै । तर, गनाउँदा पनि आसपासका अरूले नाकै थुन्न हुन्न भन्छ हाम्रो राजनीति । कुनै पनि गैरकानुनी कार्यगर्ने व्यक्ति राजनीतिज्ञ भइरहन सक्दैन । पहुँचका आधारमा, शक्तिका आधारमा यस्ता व्यक्ति जोगिनु, जोगाइनु राजनीति गर्नु होइन । अपराध गर्नु हो । तर, दुःखका साथ भन्नु पर्दछ हामी कानुन विपरीतका कार्यलाई शक्तिको दुरूपयोग गरीगरी जोगाउँदै आएका छौँ । अनि यसैलाई राजनीति भनिरहेका छौँ ।

एउटा ज्यानमाराको परिवारलाई कानुनीरूपमा भन्न नमिले पनि समाजले ज्यानमाराका खलक नै भन्दो रहेछ । ज्यानमारा बसेको टोललाई ज्यानमाराको टोल भनिदो रहेछ । हुँदाहुँदा त्यो गाउँ पूरैले कुनै एउटा व्यक्तिको गल्तीको सजाय भोग्नुपर्दो रहेछ । यति सम्वेदनशील विषय छ यो तर पनि निर्दलीय संस्कारमा हुर्केका दलहरू कुनै व्यक्ति विशेषको गल्तीलाई आपूmसँग जे छ त्यही ओडाएर छोप्ने गर्दछन् । यसो गर्दा अरूको लाज छोप्न खोज्दा आपूm नांगिएको होसै नहुने रहेछ ।

चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्गा आदि कांग्रेसी नेताको कानुनको फन्दा पर्नुअघिको तुजुक यहाँ बताइरहनु पर्दैन होला । तै पनि समयले गल्ती गर्नेलाई छाड्दो रहेनछ । तिनीहरू पनि त्यसबखत अख्तियारलाई खूब गाली गर्दथे । पूर्वाग्रह लियो, प्रतिशोध साँध्न खोज्यो भनेर कुर्लन्थे । हामीले ती दिन बिर्सेको त होइन नि ?

अनुसन्धान हुनु गल्तीको प्रमाणीकरण हुनु होइन तैपनि किन नेताहरू तर्सन्छन् ? कतै न कतै जीवनका कुनै न कुनै मोडमा पक्कै यी चुकेका छन् अनि त तर्सन्छन् ।

कांग्रेसजस्तो नियम नमिलाई अरू दलले खाएका छैनन्, खाँदैनन् । प्रमाण मेटाउने सञ्जाल यी दलको दरो छ । कम्युनिस्टको कम्युनसिद्धान्त नेपालमा बढी यही ढाकछोपको संस्कारलाई संस्थागत गर्न खर्च भइरहेछ । जसरी न्यायक्षेत्रमा कामगर्ने अधिकार प्राप्त कुनै व्यक्ति कुनै प्रहरी जस्तै घुस लिँदालिँदै समातिएको सुनिन्न । ठीक त्यही तरिका कम्युनिस्ट दलहरूमा अनैतिक कार्यलाई जोगाउन प्रयोग हुने गर्दछ । विरोध गर्नेहरूको घाँटी निमोठिन्छ वा तिनलाई उल्टै एक्लो पारेर पलायन हुन वाध्य बनाइन्छ ।

कुनै व्यक्तिका नाममा कुनै बैंकमार्फत आएको अर्बाैंको खोजी अब गरिन्न । जजसले पाउनुपर्ने थियो तिनले भाग पाइसके जस्तो छ । नेपालमा ढोल पिट्नेहरू कम्युनिस्ट नै होइनन् र जो सच्चा कम्युनिष्ट छन् ति राजनीतिमा माथि आउनै सक्दैनन् । यी कुरा तीतो लाग्न सक्छ । यस्ता कुराले फेन्सिडिल खाएर दिमाग एकोरिएकाहरू रीसले दारै किट्न पनि सक्छन् ।

आफ्नो सबभन्दा ठूलो शत्रु दाजुभाइ वा आफन्त, अरू कुनै दलमा लागेको झोकमा आफू कम्युनिस्ट बनेकाहरू अझ बढी उग्र देखिने गर्दछन् । माओवादीलाई चन्दा दिँदादिँदा वाक्क भएर आपैmँ माओवादी बनेकाहरू समाजमा जसरी आजभोली खाँटी माआवादी बनेको देखिन्छन् त्यस्तै हो यी अवसरवादीहरूको चरित्र पनि ।

सबै दलमा यस्ता सुकुलगुन्डाहरू छन्, तिनकै पहुँच छ राजनीतिको उपल्लो तहसम्म । प्रशासनिक निर्णयका टिप्पणीसम्म । न तिनको कुनै सिद्धान्त छ न नैतिकता । दलहरू यिनकै बुद्धिले र पैसाले चलायमान हुन थालेका छन् । तरिका फरक छन्, क्षेत्र फरक छन् तर यिनले बर्दिवाला गुण्डाजसरी शान्त गुण्डागर्दी गरिरहेका छन् । आजन्म निष्ठावान हुनेहरू सबै दलमा नदीमा छालले माछा पाखा लगाएभैmँ पाखा लगाइने गरिन्छ । यिनै चैते धुपौरेहरू दलका मेरुदण्ड बनिरहेका हुन्छन् ।

सुध्रनु पर्ने राजनीतिले यहीँनेर हो तर उ सुध्रन सक्दैन । माकुराका जालमा भर्खर पूmलबाट निस्केका बच्चाले माउ माकुरालाई नै खाएभैmँ खाने डरमा सम्पूर्ण राजनीति सँगेल्न नसकिने गरी जेलिँदै गएको छ ।

अहिलेको अख्तियारको कोकोहोलो यही मेसोमा छचल्किएको एउटा तरंग हो । पकेटमारहरूले ठूलोठूलो स्वरले कराएर, धम्क्याएर र षडयन्त्र गरेर जसको पैसा चोरेको हो त्यसैलाई वा जसले पोल लाएको हो त्यसैलाई पिटेका दृश्यहरू सार्वजनिक यातायातमा हिँड्नेहरूले बेलाबेलामा देखेकै हुनु पर्दछ । अख्तियारसँग सम्बन्धित राजनीतिक परिदृश्य र सार्वजनिक यातायातमा देखिने पकेटमारको परिदृश्य उस्तैउस्तै हो ।

अख्तियारले उजुरीको छानबिन गर्नै नमिल्ने, नपाउने, बयान लिन बोलाउनै नहुने नियम कानुनभन्दा माथिको राजनीतिलाई पनि राजनीति भनिरहेका छौँ हामी । यो त गुण्डाराज हो र पञ्चायत भन्दा पनि गएगुज्रेको तानाशाही हो । हेरौँ, हेर्दै जाऊँ राजतन्त्र सकिएपछि उसका भूत कति जन्मेछन्, गन्दै जाऊँ ।

कानुन हातमा लिनेले पनि गल्ती गर्न सक्छ तर अरूको गल्ती केलाउने हिम्मत गल्ती गर्नेहरूबाट हुन सक्दैन । त्यसैले होला कानुनी क्षेत्रमा भइरहेको शान्त मनोमालिन्य विरलै उच्चारण हुने गरेको । आरोप त रीस उठेपछि जसलाई जे लाए पनि हुन्छ । ५ लाख लिएर अरूले गरेको हत्या मैले गरेको हुँ भन्दै जेल जान तयार हुने मानसिकता छ र हाम्रो आदर्श राजनीतिको ? त्यस्तो छ जस्तो त लाग्दैन । अनि फेरी किन यसरी अतालिन्छ राजनीति अचम्म लाग्छ ।

पर्खालको फलामे बारमा करेन्ट लगाएर घरको सुरक्षा गर्न खोज्ने अनि राती त्यही बार समाएर चढ्न खोज्दा आपैmँलाई करेन्ट लागेपछि चाहिँ ‘मलाई मार्न षडयन्त्र गरेको’ भनेर चिच्याउन मिल्छ र ?

प्रतिक्रिया