आन्दोलनको स्वरूप परिवर्तन गर

सबैभन्दा चर्को आन्दोलन भइरहेको क्षेत्र भनेको अहिले छुट्याइएको २ नम्बर प्रदेश हो । पर्सादेखि सप्तरीसम्मको यो प्रदेशमा यसपटक मंसिर नसकि“दै शीतलहर सुरु भएको छ । शीतलहरले बढाएको चिसोले कठ्यांग्रिएर १ जनाको सप्तरीमा मृत्यु पनि भइसकेको समाचार आएको छ । यो क्षेत्रमा केही वर्ष यता हु“दै आएको शीतलहरले बर्सेनि सयभन्दा बढीको ज्यान जाने गरेको छ । एकपटक शीतलहर चलेपछि त्यो १५ दिनदेखि महिनौ“सम्म पनि लम्बिने गरेको छ । आन्दोलनका कारण बन्द गराइएका विद्यालय खुलेको महिना नबित्दै यो शीतलहर चलेको हो । लामोसमय विद्यालय बन्द हु“दा पठनपाठन हुन पाएन । विद्यालय खुलेपछि त्यसको भर्पाइ गर्न मधेसका विद्यालय सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन भएका छन् । आन्दोलनकारीले बिहानको समयमा मात्र विद्यालय खोल्न दिने भनेपछि बन्द भएका विद्यालय खुलेका हुन् । अहिले शीतलहरका कारण विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन । शीतलहर चलेको बेलामा त्यसमा पनि बिहानको समय विद्यालय सञ्चालन गर्नु भनेको अर्को मानवीय अपराध हो । अन्य समय भएको भए शीतलहर चल्दा विद्यालय बन्द गरिन्थे । अहिले त्यो अवस्था छैन, किनभने आन्दोलनका नाममा पहिल्यै तीन महिना बन्द भइसकेका छन् । यस्तो अवस्थामा दिउसो विद्यालय खोल्दा चिसोबाट बालबालिकाले केही राहत पाउनेछन् । सडकमा नारा जुलुस भइरहँदा बालबालिका विद्यालय पठाउन पनि जोखिम हुन्छ । मौसम र अवस्थालाई विचार गरेर अब आन्दोलनको वर्तमान तरिकाको विकल्प खोज्न ढिला गर्नु हुन्न । एकातिर नाकावन्दीले तराई–मधेसलगायत संपूर्ण मुलुकलाई अस्तव्यस्त बनाएको छ भने अर्कोतिर शीतलहरले जनजीवन प्रभावित बनाएको छ । फेरी यो मारमा सबैभन्दा बढी आन्दोलन चर्केकै क्षेत्रका वासिन्दा परेका छन् । यसर्थ पनि आन्दोलनको तौरतरिकामा परिवर्तन आवश्यक छ ।

वर्षमा २ देखि ३ महिना मात्र जाडो हुने त्यसमा पनि केही वर्ष यता शीतलहर चलेका बेला मात्र चिसो बढने गरेको छ । अधिकांश महिना उखरमाउलो गर्मी बढ्ने भएकाले त्यस क्षेत्रका खास गरी गरिब परिवारमा जाडोबाट बच्ने न्यानो लुगा ज्यादै कम हुन्छ । वर्षमा ९ देखि १० महिना अत्यधिक गर्मी हुने भएकाले स्वभाविकरूपमा न्यानो लुगाको जोहो फजुल खर्चजस्तै हुन्छ जसले गर्दा चिसोले मर्नेको संख्या तराईमा बढी हुन्छ । यस्तो अवस्थामा पनि आन्दोलनको तरिका अहिलेकै जस्तो कायम राख्नु मोर्चा स्वयंलाई प्रतिउत्पादक हुनसक्छ । यत्रो लामो समय आन्दोलन गर्दा पनि राज्यले त्यसलाई संवोधन नगर्दा मधेसीलाई साच्चै राज्यले दोस्रो दर्जाको नागरिक ठानेको रहेछ भन्ने आम मधेसीमा परेको छ । मधेसी मोर्चाको आव्हानभन्दा राज्यविरुद्धको आक्रोश बढेको हो । त्यसैले सुरुका दिनमा कार्यकर्ता मात्र उत्रेको आन्दोलन अहिले सम्पूर्ण मधेसीको साझा भएको छ । मधेसी जनतामा खास गुमाएका मोर्चाका नेताले यही मौका छोपेर गुमेको साख फर्काउने च्या“खे दाउ थापेका मात्र हुन् । राज्यले मधेसीका जायज माग पूरा गर्न अब एकछिन पनि ढिला गर्नुहुन्न । आममधेसी अहिले पनि नेपाली हुनुमा गर्व गर्छन् । तर, राज्यको यस्तै रवैया कायम रहने हो भने निराशाले उब्जाउने आक्रोश रोक्ने तागत राज्यस“ग हुने छैन ।

दिल्ली भ्रमणपछि मोर्चाका नेताहरू गलेका छन् । उनीहरूका स्थानीयस्तरका कार्यकर्ता नेताको रवैयाबाट आजित भएका छन् । नेताहरूले आन्दोलन त मानसिकरूपमा बिसाइसकेका छन् । तर, सम्झौतामा सहीछाप गर्न उनीहरूलाई कार्यकर्ता र जनताको डर छ । आन्दोलन उराल्न जुन सपना बा“डेका थिए, ती अब सबै पूरा नहुने पक्कापक्की भइसकेको छ । यस्तो अवस्थामा मोर्चाले अब बिस्तारै पछि हट्नु बुद्धिमानी हुनेछ । त्यो भनेको हाम्रो आन्दोलन जारी छ भन्दै त्यसको स्वरूप परिवर्तन गर्नु हो । त्यो भनेको रिले अनसनलगायतका शान्तिपूर्ण आन्दोलन हुन सक्छन् जसले आमनागरिकको जनजीवनलाई कुनै असर गर्दैन ।

प्रतिक्रिया