भवनका लागि २० लाख खर्चने बोगटीको उद्घोष

ram-kesar-bogatiकाठमाडौं, २५ मंसिर । नेपाल चलचित्र कलाकार संघको निर्वाचनका लागि अहिले चलचित्र क्षेत्र गर्माएको छ । सम्पूर्ण चलचित्रकर्मीको ध्यान अहिले कलाकार संघको निर्वाचनमा तानिएको छ । अध्यक्ष पदका लागि उम्मेदवारीसँगै चलचित्रकर्मीले एजेन्डा प्रस्तुत गर्दै आफूलाई अगाडि सारेका छन् । यसैबीच संघको अध्यक्षमा उम्मेदवारी दिएका कलाकार रामकेशर बोगटीले ‘कलाकार संघ’का लागि भवन निर्माण मुख्य एजेन्डा भएको बताउँदै उम्मेदवारी दिएका छन् ।

उम्मेदवारीसँगै उनले कलाकारको हकहित र सेलिब्रेटीहरूका लागि काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । कलाकार संघको आफ्नै भवन निर्माणका लागि आफूले १ लाख ७ हजार ७ सय ७७ रुपैयाँ उपलब्ध गराएको भन्दै बोगटीले आफ्नो कार्यकालमा रकम बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कलाकार संघको भवन निर्माणका लागि रकम आउँछ भन्ने आश गरेको छु । आएन भने पनि म एक्लैले २० लाख खर्च गरेर ४ कोठे भवन बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

बोगटीकै प्यानलबाट सचिव पदमा उठ्न लागेका चेतबहादुर सिंह(राजा)ले ४ लाख दिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, सदस्य पदका उम्मेदवार सुनील कटुवालले पनि आफूले एक्लैले ४ लाख सहयोग गर्ने र आफूसँग आवद्ध र निकट संघसंस्थासँग रकम उठाउने जानकारी दिए । उनले आफूलाई सदस्य पदमा जिताउनका लागि आग्रह पनि गरे ।

बोगटीको प्यानलबाट महासचिवमा सरिता लामिछाने, सचिवमा चेतबहादुर सिंह, कोषाध्यक्षमा आकाश खवास र सह–कोषाध्यक्षमा नन्दिता केसीले उम्मेदवारी दिएका छन् । नन्दिता निर्विरोध विजयी भइसकेकी छिन् ।

अध्यक्षका उम्मेदवार बोगटीले कलाकार संघको चुनावका लागि राजनीतिक झन्डा बोकेर अगाडि आउनेहरूदेखि सावधान रहन सबैलाई आग्रह गरे । बोगटीले भने, ‘यदि राजनीतिक नै गर्ने हो र पार्टीको झन्डा नै बोकेर हिँड्ने हो भने कलाकार संघ किन चाहियो ?’

यसले पनि शनिबार हुने निर्वाचनका लागि अहिले कलाकारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया