शीतलहर सुरु

काठमाडौं, २५ मंसिर । मध्यतराईमा शीतलहर सुरु भएपछि स्थानीयस्तरको जनजीवन प्रभावित हुन थालेको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायतका जिल्लामा बाक्लो मात्रामा हुस्सु लागेर शीतलहर सुरु भएपछि जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ ।

शीतलहरको असर सबैभन्दा बढी स्कुले विद्यार्थीमा परेको छ । मधेस आन्दोलनका कारण लामो समय बन्द यस क्षेत्रका शैक्षिक संस्था ठप्प थिए । आन्दोलनरत् मधेसी मोर्चाले बिहान विद्यालय सञ्चालन गर्न दिने भनी निर्णय गरेको महिना बित्न नपाउँदै बढेको चिसोले फेरी पठनपाठनमा अवरोध पु¥याएको छ ।

बिहानको कठ्याङग्रिदो जाडोमा स–साना नानीहरूलाई स्कूल पठाउनु पर्दा अभिभावक चिन्तित बनेका छन् । ‘घडीले बिहान भएको जनाउ दिए पनि बाक्लो कुहिरोले उज्यालो देखिँदैन, त्यसमाथि पानी परेजस्तै सिमसिम खस्ने तुसारोमा बच्चा स्कुल पठाउनु पर्दा आफ्नै कटक्क काटिन्छ’ जलेश्वरका सम्बन्ध सिंहले भन्टन्, ‘मौसममा सुधार आएन भने म त बच्चा पठाउन सक्दिनँ ।’

शीतलहरका कारण विरामी, वृद्धवृद्धा र अशक्त सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि तराईका बजार क्षेत्रमा मानिसको चहलपहल घटेको छ भने ज्याला मजदुरी गरेर गुजारा चलाउनेलाई काम गर्न गाह्रो भएको छ । स्थानीय हाटबजारमा न्यानो कपडाको खरिद–बिक्रीमा वृद्धि भएको पाइएको छ ।

गत दुई÷दिनदेखि नै निरन्तर शीतलहर चलिरहेकाले अन्य दिनको तुलनामा शुक्रबार धेरै चिसो महसुस गरिएको छ । सर्वसाधारण घरघरमा धुनी बालेर आगो तापिरहेका छन् । यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले चिसोबाट ज्यानैसमेत जाने भएकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।

गत वर्ष मात्र शीतलहरले चिसो बढेर महोत्तरीमा दुई दर्जन बढीको ज्यान गएको थियो । प्रायः तराईमा माघ महिनामा चल्ने शीतलहर यसपटक पुस नलाग्दै सुरु भएकाले सर्वसाधारणमा थप चिन्ता परेको छ ।

प्रतिक्रिया