नकआउट चरणको समीकरण पूरा

messi copyलन्डन, २४ मंसिर । बुधबारबाट च्याम्पियन्स लिग फुटलबमा अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । बुधबार राती समूह चरणको अन्तिम खेल भएपछि नकआउट चरणका लागि समीकरण पूरा भएको हो ।

अन्तिम खेलमा इंग्लिस क्लब चेल्सी, आर्सनल, इटालीको एएस रोमा, युक्रेनको डाइनामो किभ, बेल्जियमको गेन्ट र रोमा च्याम्पियन लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । बुधबार स्पेनिस क्लब बार्सीलोनाले जर्मनीको बायर लिभरकुजेनसँग १–१ गोलको बराबरी खेलेको थियो । तर बार्सिलोना समूह विजेताको रूपमा यसअघि नै नक आउट चरणमा पुगिसकेको थियो । अन्तिम खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

बुधबार राती भएको खेलमा बार्सिलोना बायर लेभरकुसनसँग १–१ को बराबरीमा रोकिएको हो । २०औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए तर त्यो अग्रता ३ मिनेटभन्दा टिक्न सकेन । २३औँ मिनेटमा लेभरकुसनका हर्नान्डेजले बराबरी गोल फर्काए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र खेल १–१ को बराबरीमा सकियो । बराबरीले बार्सिलोनालाई केही असर नगरेपछि लेभरकुसन भने समूह चरणबाटै बाहिरियो । १४ अंकसहित समूह विजेता बनेको बार्सिलोना यसअघि नै अन्तिम १६ मा पुगेको थियो ।

बुधबार राती भएको खेलमा बाटे बारिसोभलाई गोलरहित बराबरीमा रोकेको रोमा समूह उपविजेताको रूपमा अन्तिम १६ मा पुग्यो । लेभरकुसन बार्सिलोनासँग बराबरीमा रोकिनु रोमाका लागि फाइदाजनक बन्यो । रोमा र लेभरकुसनको समान ६ अंक नै भए पनि रोमा दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । लेभरकुसनले अब युरोपा लिग खेल्नेछ ।

त्यस्तै चेल्सीले च्याम्पियन्स लिगमा जित हात पार्दै नकआउट चरणमा प्रवेश पाएको छ । बुधबार राती भएको खेलमा एफसी पोर्टोलाई २–० ले हराएर चेल्सी समूह जी को विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो हाफको १२औँ मिनेटमा पोर्टोका मार्कानो सिएराले आत्मघाती गोल गरे । त्यसपछि चेल्सीले खेलमा अग्रता लियो । ५२औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीको २–० को जित सुनिश्चित गरे । प्रिमियर लिगमा खराब प्रदर्शन गरेको चेल्सी तथा प्रशिक्षक जोस मोरिन्होका लागि यो महत्वपूर्ण उपलब्धी हो । चेल्सी १३ अंकसहित समूह विजेता बनेको हो ।

समूह जीबाट डाइनामो किएभ समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा किएभले माकाबी टेल अविवलाई १–० ले हरायो । किएभको ११ अंक भएको छ । किएभ पराजित भएको भए पोर्टो उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गर्ने थियो । चेल्सीसँग महत्वपूर्ण खेलमा पराजित भएको पोर्टोको १० अंक छ । पोर्टोले अब युरोपा लिग खेल्नेछ । बुधबार राती ओलम्पिकासलाई ३–० ले हराएको आर्सनल समूह एफको उपविजेताको रूपमा अन्तिम १६ मा पुग्यो ।

आर्सनलको जितमा तीनै गोल ओलभर जिरउडले गरे । २९औँ मिनेटमा जिरउडले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए । ४९औँ मिनेटमा जिरउडले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलको अग्रता दोब्बर भयो । ६७औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै जिरउडले ह्याट्रिक पूरा गरे । जिरउडको यो आर्सनलका लागि पहिलो ह्याट्रिक हो । ९ अंक जोडेको उपविजेताको रूपमा नकआउट चरणमा पुगेको हो । योसँगै आर्सनल लगातर १६ सिजनमा अन्तिम १६ मा पुगेको छ । समूह विजेताको रूपमा बार्यन म्युनिखले यसअघि नै अन्तिम १६ मा स्थान बनाएको थियो ।

बुधबार राती भएको खेलमा बार्यन म्युनिखले डाइनामो जाग्रेबलाई २–० ले हरायो । बार्यन म्युनिखको १५ अंक भएको छ । समूह एचबाट जेन्टले समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको छ । गए राती भएको खेलमा शीर्ष स्थानको जेनिट सेन्ट पिटर्सबर्गलाई २–१ हराएको जेन्ट उपविजेता बनेको हो । जेनिट सेन्ट पिटर्सबर्ग भने यसअघि नै अन्तिम १६ मा पुगेको थियो ।

बुधबार रातीको खेलमा लियोनसँग २–० ले हारेको भ्यालेन्सिया भने समूह चरणबाटै बाहिरिएको छ । जेन्ट पराजित भएको र आफूले लियोनलाई हराउन सकेको अवस्थमा भ्यालेन्सियाले अन्तिम १६ मा स्थान बनाउने थियो । तर अब उसले युरोपा लिग खेल्नेछ । ८ समूहमा रहेका ३२ टिमबाट प्रत्यक समूहको शीर्ष २ स्थानमा रहने टिमले नकआउट चरणमा स्थान बनाएका छन् ।

नकआउट चरणको ड्र आगामी सोमबार हुनेछ । अन्तिम १६ का २ लेगमा हुनेछन् । अन्तिम १६ को पहिलो लेग आउँदो फेब्रुअरीको १६ देखि २४ मा हुनेछ । यस्तै दोस्रो लेग मार्चको ८ देखि १६ मा हुनेछ । २ लेगमा गरी सम्रगमा विजयी हुने ८ टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया