भारत–पाक शान्ति वार्ता हुने

इस्लामावाद, २४ मंसिर । परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानले अवरुद्ध शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको घोषणा गरेका छन । इस्लामावादमा एउटा क्षेत्रीय सम्मेलनका क्रममा शान्ति वार्ता सुरु गर्नेबारे सहमति भएको घोषणा गरिएको हो ।

आफ्ना पाकिस्तानी समकक्षी सरताज अजिजसँगको भेटवार्तापछि भारतीय विदेशमन्त्री सुषमा स्वराजले पत्रकारलाई भनिन्, ‘२ मुलुकका विदेश सचिवको बैठकले शान्ति र सुरक्षाबारे हुने वार्ताका एजेन्डाहरू तय गर्नेछ ।’ २ मुलुकद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवैपक्ष व्यापक द्वीपक्षीय संवादका लागि तयार भएका छन्, दुवै देशका विदेश सचिवहरूले वार्ताको मिति र खाका तयार पार्नेछन्, शान्ति सुरक्षा, जम्मु कश्मिर, अतिवादविरुद्धको लडाइँलगायतका मुद्दामा छलफल हुनेछ ।’ सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भए यता कश्मिर मुद्दालाई लिएर दक्षिण एसियाली २ प्रतिद्वन्द्वी मुलुकले २ पटक युद्ध गरिसकेका छन् ।

दुवै मुलुकले पूर्णरुपमा दाबी गर्दै आएको कश्मिर ६० वर्षयता विवादको केन्द्रमा रहिआएको छ । बिबिसीका शाहजेब जिलानीका अनुसार पाकिस्तानले सन् २००९ मा गरिएको मुम्बई आक्रमणमा संलग्न रहेका आरोपीहरूको मुद्दा छिट्टै टुंग्याउने प्रक्रियालाई तीव्र पार्ने भारतीय पक्षलाई आश्वासन दिएको बताइएको छ । इस्लामावादस्थित बिबिसीका एम इलियासअनुसार अविश्वासका कारण विगतमा वार्ता भंग भएका दृष्टान्तहरू छन, भविष्यमा ठोस वार्ता गर्ने मार्गचित्र तयार पार्न सके र २ मुलुकलाई टाढा राख्दै आएका विवादित विषयमा प्रगति हासिल गर्न सके मात्र सफलताको मापन गर्न सकिनेछ ।

प्रतिक्रिया