साउदी अरेबियामा वार्ता जारी

रियाद, २४ मंसिर । सिरियामा विगत ५ वर्षदेखि आन्दोलन गरिरहेका विपक्षीहरूको वार्ता साउदी अरेबियाको राजधानी रियादमा जारी रहेको समाचार छ । बुधबारबाट सुरु भएको सो वार्ता बिहीबार पनि जारी रहेको बताइएको छ । साउदी अधिकारीहरूले सो वार्तामा सिरियाका लगभग सबैजसो विपक्षी एवं विद्रोही समूहका प्रतिनिधिहरू रहेको बताएका छन् ।

यसअघि सो वार्तामा विपक्षीहरूसँगै कुराकानी गर्न सिरियाली राष्ट्रपति बसर अल असद पनि उपस्थित हुने बताइएको थियो । तर, यो वार्ता सुरु भएपछि भने यस विषयको चर्चा गरिएको छैन । साउदी विदेशमन्त्री अब्देल अल जुबिरले सिरियाका आन्दोलनकारी प्रतिनिधिबीच वार्ता जारी रहेको जानकारी बिहीबार दिएका छन् । यसअघि साउदी अरेबियाले यही डिसेम्बरको मध्यमा सिरियाली विपक्षी समूहलाई एकै स्थानमा ल्याएर शान्ति वार्ता गराउने कोसिस गर्ने बताएको थियो ।

सो शान्ति वार्ताको प्रमुख मुद्दा सिरियामा गएका करिब ५ वर्षसम्म जारी द्वन्द्वको अन्त्य भएको बताइएको छ । संयुक्त राष्ट्रसंघको लागि साउदी अरेबियाका राजदूतले गत महिना सो धारणा राखेका थिए । सिरियाली विपक्षी समूह र सिरियाली राष्ट्रपति बसर अल असदबीच छलफल गरी शान्ति वार्ताको टुंगो लगाउने उद्देश्य राखिएको छ । तर, यस्तो सम्भावना भने अहिले नै नदेखिएको विश्लेषकहरूको भनाइ छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन र त्यसपछि जारी गृहयुद्ध ५ वर्ष पूरा भएको छ । जारी यस द्वन्द्वमा जरी २०११ देखि हालसम्म २ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

लाखौँलाख व्यक्ति घरबारविहीन भएका छन् भने लाखौँ व्यक्ति देशभित्र र छिमेकी राष्ट्रमा शरण लिन पुगेका छन् । सुरुमा राष्ट्रपतिलाई सत्ताबाट हटाउनका लागि सुरु भएको आन्दोलनले पछिल्ला वर्षहरूमा आएपछि गृहयुद्धको रूप लिएको छ ।

प्रतिक्रिया