समयै योजना बनाऔँ

नयावर्ष २०७२ को आगमनमा खुसीयाली मनाएको केही समय बित्न नपाउँदै नेपालीमा ठूलो दुर्घटना प¥यो । वर्ष त्यत्ति राम्रो रहेन । महाभूकम्प, नाकाबन्दी र अभावबीच नेपालीले यो वर्ष बिताउँदै छन् । अंग्रेजी क्यालेन्डर अनुसार नयाँ वर्षको सुरुआत हुन केही समय मात्र छ । आशा गरौँ, अबका दिन त्यत्ति कठिन हुने छैन । वर्ष २०१६ हाम्रा लागि राम्रो हुनेछ । जहाँसम्म खेलकुदको प्रश्न छ, नेपाली खेलकुदमा भएका केही दुर्घटनाका बाबजुद केही सम्भावना देखिएको छ । नेपालमा लोकप्रिय रहेको फुटबलको अन्तर्राष्ट्रिय क्षेत्रमा नकरात्मक प्रभाव धेरै बढ्दै गयो । फुटबलले ठूलो दुर्घटनाको सामना गरेको वर्ष क्रिकेटमा पनि आरोह अवरोह देखियो । क्रिकेटबाट धेरै नेपालीलाई आशावादी तुल्याएको थियो । त्यही क्रिकेट पनि पछिल्लो समयमा खराब अवस्थाबाट गुज्रिरहेको छ । भ्रस्टाचारको आरोप हँुदै राजनीतिक हस्तक्षेपले क्रिकेट प्रताडित बनेको छ । हाल रहेको नेतृत्वलाई राष्ट्रिय खेलकुद परिषद्ले विघटन गर्ने सम्मका हल्ला चलेको छ । यो घटनाले कुन मोड लिन्छ यसै भन्न सकिँदैन । खेलको हकमा पछिल्लो १ वर्ष एकदमै खराब प्रदर्शन गर्दै आएको छ ।

हरेक नकरात्मक घटनाका पनि केही सकरात्मक पाटा छन् । विगतमा फुटबल र क्रिकेटको छायाँमा अन्य खेलका खेलाडी, प्रशिक्षक र अधिकारीले आफ्नो मिहेनत र परिश्रम छायाँमा परेको महसुस गरेका थिए । राजनीतिक नेतृत्व र सामाजिक नेतृत्वले आफ्नो योगदानलाई बेवास्ता गरेको गुनासो यत्रतत्र सुनिएको थियो । यी दुई खेलमा प्राप्त उपलब्धीभन्दा धेरै माथिल्लो उपलब्धीलाई नजरअन्दाज गर्ने गरेको आरोप खेल नेतृत्वमाथि लाग्दै आएको थियो । आरोप कर्पोरेट क्षेत्र र अन्य सबै क्षेत्रको नेतृत्वलाई नलागेको होइन । यी दुःखद घटनाले पनि खेलकुदमा चासो राख्ने सबै क्षेत्रका नेतृत्वका लागि नयाँ पाठ बन्न सक्नेछ । हरेक खेलको आफ्नो महत्व हुन्छ र विज्ञान पनि । सबै क्षेत्र एकाध खेलका लागि ओर्लनु पक्कै जायज नहोला । नेतृत्वको आँखा फराकिलो भए हरेकमा सम्भावना देख्न सकिन्छ । अब अली फराकिलो आँखा बनाउँदै हरेक सम्भावनाको खोजी गर्ने र सबैलाई सम्मान र समान अवसर दिन नेतृत्व तयार हुन्छ नै होला ।

अर्को वर्ष सुरु हुन १ महिना बाँकी छ । यसै १ महिनामा प्रत्येक खेलका महासंघले वार्षिक कार्यक्रम तर्जुमा गर्छ नै । नेपाली खेलकुदमा रहेका सबै संघहरू ती वार्षिक कार्यक्रमको खाका अनुसार नै चल्ने हुन् । सन् २०१६ मा हुने खेलकुदका अन्तर्राष्ट्रिय स्पर्धालाई आधार मान्दै अहिले नै तयारी गर्दै राष्ट्रिय संघहरूले पनि योजना बनाउने र त्यसै अनुसारको तयारी गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रै प्रभाव रहन सक्छ । नेपाली खेलकुदको सर्वोच्च निकायले सबै सरोकारवालासँग राय माग्दै संघहरूलाई सन् २०१६ मा हुने स्पर्धा र यसका लागि गर्नुपर्ने तयारीबारे निश्चित योजनाको अर्को विकल्प छैन ।

प्रतिक्रिया