६० करोडको औषधि जफत

काठमाडौं, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा थन्किएका ६० करोड बराबरका औषधि भन्सार विभागले जफत गरेको छ । गत १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट पीडितलाई उपचारार्थ सहयोगस्वरूप अन्तर्राष्ट्रिय समुदायले निःशुल्क रूपमा प्रदान गरेका औषधि गोदाममा थन्किएर बसेका थिए ।

विभागले जफत गरेका औषधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार हस्तान्तरण गरेको थियो । ती औषधिमध्ये कुन कुन प्रयोगमा आउने, कुन कुन नष्ट गर्नुपर्ने छुट्याउन मन्त्रालयले औषधि व्यवस्था विभागको समेतको सहभागितामा स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको जनाएको छ । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको बिहीबारको बैठकमा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले ती औषधिलाई तत्काल प्रयोगमा ल्याइने जानकारी दिए । ‘औषधिको गुणस्तर, दर्ता, प्रयोगको अवधिलगायत कुराहरू हेरी औषधिका माग भएका अस्पताललाई वितरण गर्छाैं’ – उनले भने ।

गजको अभाव
शल्यक्रियाको अवस्थामा प्रयोग हुने गज (सेतो ब्यान्डेज) अहिले सरकारी अस्पतालमा अभाव देखिएको छ । ‘औषधि त येनकेन प्रकारेण आपूर्ति गरिरहेका छौँ, शल्यक्रियापछि नभई नहुने गजको आपूर्ति गर्न भने हम्मेहम्मे परिरहेको छ’ सचिव श्रेष्ठले सो बैठकमा जानकारी दिए । ‘बजारमा गज पाइन्छ, तर अस्पतालसम्म पु¥याउन खरिद ऐनका कारण सकिएको छैन, म तपाईंहरूको ध्यानाकर्षण गराउँछु’ उनले भने ।

अर्काेतर्फ इन्धनको चरम अभावको मार खेपिरहेका अस्पतालमा जडान भएका विद्युत् फिडर (चौबीसैघन्टा विद्युत् आउने यन्त्र)को मूल्य विद्युत् प्राधिकरणले शतप्रतिशत वृद्धि गरेपछि अस्पतालहरू अर्काे मारमा परेका छन् । ‘न इन्धन न विद्युत् अस्पताल कसरी चलाउने हो ? अस्पतालमा पनि २६ वटा युनियनसम्म छन् । औषधि त जोहो गरेका छौँ,’ सचिव श्रेष्ठले बताए । उनले औषधिको अभाव हुन नदिन छिटो र सरल प्रक्रियाद्वारा औषधि किन्न कार्यविधि स्वीकृत भइसकेको हुँदा अब औषधि अभाव हुने छैन भने ।

पाँच रुपैयाँ पर्ने औषधि पाँच पैसामा
बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक बालकृष्ण खकुरेलले औषधि उद्योगका स्थानीय बजार प्रतिनिधिले आफ्ना कम्पनीका औषधि चलाउन सुरुसुरुमा ५ रुपैयाँ पर्ने औषधिलाई ५ पैसासम्ममा दिएका कारण अहिले अस्पतालमा औषधिको अभाव भएको जानकारी दिए । उनले भने, ‘औषधि सप्लाई गर्ने ठेकेदारको कब्जामा अस्पताल छ, ठेकेदारले आजभोलि त्यस्ता औषधि दिन नसकेपछि अभाव देखिएको हो, यस्तो अभावको विभागले तत्काल वैकल्पिक समाधान खोजिरहेको छ ।’

हाल ५३ नेपाली कम्पनीले १ सय प्रकारका औषधि उत्पादन गर्ने गर्छन् । ३२ अर्ब बराबरको औषधि कारोबार हुने गर्छ । सोमध्ये १४ अर्ब नेपाली कम्पनीको योगदान रहिआएको छ । सो अवसरमा समितिका सदस्यहरूले स्वदेशका लागि आवश्यक पर्ने आधारभूत औषधिको स्वदेशमै उत्पादन गर्न, औषधिमा आत्मनिर्भर बन्न र औषधि नीति परिमार्जन गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया