‘लोकमानलाई महाअभियोग लगाउनुपर्छ’

pradipकाठमाडौं, २४ मंसिर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् । यसबारे दलहरूबीच छलफल चलाइने उनले जानकारी दिएका छन् ।

देश स्वाधिनताको लडाइँमा भएको बेला जोजो उहाँको नियुक्तिको विपक्षमा रहेका थिए । उनीहरूलाई छानीछानी पत्र काट्दा नियतमाथि प्रश्न उठेको छ’ ज्ञवालीले भने । बिहीबार राजधानीमा भएको एक साक्षात्कारमा ज्ञवालीले उच्चस्तरीय राजनीतिक समितिको आगामी बैठकमा यसबारे छलफल हुने जानकारी दिए ।

भारतीय नाकाबन्दीबाट नेपालमा सरकारलाई झुक्न बाध्य बनाउँछौं भन्ने मधेसी मोर्चाको क्याल्कुलेसन गलत भएको पुष्टि भइसकेको उनले बताए । राष्ट्रसंघ, चीन, अमेरिका, युरोपियन युनियनदेखि भारतभित्रै पनि विरोध भइरहेकोले अब भारतको नाकाबन्दी धेरै दिन पर जान सम्भव नभएको उनको तर्क थियो ।

मधेसी मोर्चाले राखेको माग मध्ये समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय संविधान संशोधनमार्फत अघि बढाउने र राजनीतिक संयन्त्रले ३ महिनाभित्र सम्बन्धित क्षेत्रको जनताको भावना बुझेर सिमांकन हेरेफेर गर्ने तयारीमा आफूहरू रहेको उनले बताए ।

पहाडबाट मधेस छुट्याउने र जातीय आधारमा राज्य बनाउने कुरा कुनै पनि हालतमा नस्वीकार्ने उनले स्पष्ट पारे । एमाले सचिव ज्ञावलीले भने, ‘हामी सिमांकनमा खुल्ला छौँ । तर, सम्बन्धित क्षेत्रका जनता कुन प्रदेशमा बस्न चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ ।’

प्रतिक्रिया