साउदी अरेबियामा सिरियाली विपक्षीको वार्ता

रियाद, २३ मंसिर । सिरियाका विपक्षीहरुका विभिन्न समूहले बुधबार साउदी अरेबियाको राजधानी रियादमा वार्ता सुुरु गरेको समाचार छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग हुन लागेको भनिएको वार्ताको पूर्वसन्ध्यामा यो वार्ता सुरु भएको बताइएको छ । तर सम्भावित भनिएको राष्ट्रपति असदसँगको वार्ता भने हुने वा नहुने विषयमा अशंका नै रहेको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले भनेको छ, ‘सिरियाको भित्र र बाहिर रहेका विपक्षी समूहहरुको ठूलो सहभागिता सो वार्तामा रहेको देखिन्छ ।’ साउदी विदेशमन्त्री अब्देल अल जुबिरले ती विदेशी प्रतिनिधिहरुलाई स्वागत गरे । उनले बन्द कोठाभित्र जारी उक्त वार्ताको सफलताको कामना पनि गरेको समाचारमा जनाइएको छ । यसअघि साउदी अरेबियाले यही डिसेम्बरको मध्यमा सिरियाली विपक्षी समूहलाई एकै स्थानमा ल्याएर शान्ति वार्ता गराउने कोसिस गर्ने बताएको थियो ।

सो शान्ति वार्ताको प्रमुख मुद्दा सिरियामा गएका करिब पाँच वर्षसम्म जारी द्वन्द्वको अन्त्य भएको बताइएको छ । संयुक्त राष्ट्रसंघको लागि साउदी अरेबियाका राजदूतले गत महिना सो धारणा राखेका थिए ।

सिरियाली विपक्षी समूह र सिरियाली राष्ट्रपति बसर अल असदबीच छलफल गरी शान्ति वार्ताको टुंगो लगाउने उद्देश्य राखिएको छ । तर यस्तो सम्भावना भने अहिले नै नदेखिएको विश्लेषकहरुको भनाई छ ।

गत नोभेम्बर महिनामा अष्ट्रियाको राजधानी भियनामा २० राष्ट्रका विदेशमन्त्रीबीच पनि यो सहमति भएको थियो । सो बैठकमा पनि ती मन्त्रीहरुले यस वार्ताको प्रस्ताव राखेका थिए । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन र त्यसपछि जारी गृहयुद्ध पाँच वर्ष पूरा भएको छ । जारी यस द्वन्द्वमा जरी २०११ देखि हालसम्म २ लाख ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

लाखौँलाख व्यक्ति घरबारविहीन भएका छन् भने लाखौँ व्यक्ति देशभित्र र छिमेकी राष्ट्रमा शरण लिन पुगेका छन् । सुरुमा राष्ट्रपतिलाई सत्ताबाट हटाउनका लागि सुरु भएको आन्दोलनले पछिल्ला वर्षहरुमा आएपछि गृहयुद्धको रुप लिएको छ ।

आन्दोलनको सुरुवातसँगै इस्लामिक स्ट्ेट (आइएस) का आतंककारीहरुले सिरिया र इराकलाई थप युद्धभूमि बनाएका छन् । ती देशमा पनि हाल दिनहुँजसो हिंसा मच्चिने गरेको छ । पछिल्लो समयमा सिरियामा आइएसको आश्रयस्थलमात्र नभएर आतंककारीहरुलाई तालिम नै दिनेजस्ता काम गर्ने गरिएको भन्दै पश्चिमा देशहरुले त्यसविरुद्ध कारबाही थालेका छन् । सिरियामा पनि आइएस रहेका भन्दै फ्रान्स, अमेरिकी तथा बेलायती विमानहरुले पनि हवाई कारबाही गर्ने गरेका छन् । यसरी पछिल्लो समयमा आएर सिरिया एक किसीमको युद्धमैदान नै बनेको छ ।

प्रतिक्रिया