लोकमानविरुद्व आयुक्तहरू

काठमाडौं, १६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र आयुक्तहरूबीच अन्तरविरोध चर्किएको छ । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक अंगका रूपमा स्थापित आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तहरूको बीचमा कडा अन्तरविरोध सुरु भएको हो ।

प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारीहरूलाई कारवाही गर्नुको साटो संरक्षण गरिरहेको केही आयुक्तहरूले आरोप लगाएका छन् । उनीहरूले यसका बारेमा सरकारको ध्यानाकर्षण गराउने समेत तयारी गरेको बुझिएको छ । अख्तियारमा रहेका ७ जना पदाधिकारी मध्ये ५ जना आयुक्त कार्कीको विरुद्वमा रहेका छन् । प्रमुख आयुक्त कार्कीको पक्षमा राजनारायण पाठक मात्र देखिएका छन् भने आयुक्तहरू केशवप्रसाद बराल, दीपबहादुर बस्न्यात, नवीनकुमार घिमिरे, डा. गणेशराज जोशी र डा. शावित्री थापा गुरुङ उनको विपक्षमा रहेका छन् । ‘सम्पत्ति शुद्धीकरण विभागका मुद्दाहरू अहिलेसम्म थाती रहेको भन्दै ठुल्ठूला भ्रष्टाचारका केसहरू थन्किइरहेको बताइएको छ । भूकम्पको भ्रष्टाचार काण्डमा धेरैलाई छुट दिइएको छ, अहिले तेलका तस्करहरू बढिरहेका छन् तर आयुक्तहरूलाई कुनै जिम्मेवारी नदिई प्रमुख आयुक्तले नै एकलौटी काम गरिरहेको स्थिति छ ।’ अख्तियार श्रोतले बताएको छ ।

पछिल्लो समय नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको विषयलाई लिएर अख्तियारका पदाधिकारीवीच अन्तरविरोध सतहमा आएको हो । खड्काको विषयमा परेको उजुरीमाथि अख्तियारले छानबिन गरिरहेको भन्दै प्रवक्ता कृष्णहरी पुस्करले पत्रकार सम्मेलन गरेकोप्रति आयुक्तहरूले नै अनभिज्ञता जनाएका छन् ।

स्रोतले दिएको जानकारीअनुसार अख्तियार प्रमुख कार्कीले भ्रष्टाचारसम्बन्धी ठुल्ठूला केसहरू छानबिन नगरी आफ्नै दराजमा थन्क्याउने गरेको, आयुक्तहरूलाई कुनै पनि जिम्मेवारी नदिई आफूखुसी काम गरिरहेको र शंकास्पद व्यक्तिहरूसँग उठबस गर्ने गरेको आयुक्तहरूको गुनासो छ । स्रोतले भन्यो, ‘प्रमुख आयुक्तको कार्यशैलीप्रति आयुक्तज्यूहरू मात्रै होइन, आयोगका सबै इमानदार कर्मचारीहरू वाक्कदिक्क भइसकेका छन् ।’

प्रतिक्रिया