सितोरियोका जन्मदाता रार्ई सम्मानित

karate rai shamanरुपन्देही, १५ मंसिर । नेपाल सितोरियो करातेका जन्मदाता थानेश्वर राईलाई बुटवलमा मंगलबार सम्मान गरिएको छ । जिल्ला सितोरियो कराते संघ र जिल्ला सितोरियो कराते स्कुल संघ रुपन्देहीले संयुक्त रूपमा राईलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै राईले अझै पनि खेल र खेलाडीलाई सरकारले राम्रो दृष्टिकोणले नहेरेको बताए । खेल क्षेत्रले राष्ट्रको नाम उँचो बनाउने भए पनि सरकारी उपेक्षाका कारण खेल र खेलाडीहरूको पछिल्लोसमय बदनामी भएको बताए । उनले भने, ‘खेल खेलेर बाँच्ने आधार छैन्, त्यसैले खेलाडीहरूको मनोबल कमजोर हुन्छ, त्यसको परिणाम म्याच फिक्सिङ हो ।’ उनले अहिले देशमा करातेका खेलाडीहरू ७ लाखभन्दा बढी भएकाले अब यसलाई राष्ट्रिय खेलको रूपमा विकास गर्नुपर्ने बताए ।

करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले राष्ट्रले प्रशिक्षकलाई पनि उपेक्षा गरेकाले प्रशिक्षकहरू विदेश पलायन हुने क्रम बढेको बताए । कार्यक्रममा नेपाल सितोरियो कराते संघका केन्द्रीय सदस्य अमिर राई, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङलगायतले बोलेका थिए । कार्यक्रम जिल्ला सितोरियो कराते स्कुल संघका अध्यक्ष कृष्णप्रसाद देवकोटा, रुपन्देही प्रशिक्षक माधव घिमिरेको तथा मीनराज गिरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया