‘एडस् रोगीलाई हेपियो’

काठमाडौं, १५ मंसिर । नेपालले एड्स दिवस मनाउन लागेको भए पनि रोगीलाई हेपाहा किसिमले सम्बोधन गर्ने गरिएकोे संक्रमितहरूले दुःखेसो पोखेका छन् । विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको कार्यक्रमका सहभागीले समय सान्दर्भिक विषयमा कुरा गर्दा भेदभाव जनाउने खालका शब्द चयन गरेकोप्रति दःुख व्यक्त गरेका हुन् ।

नेपाल एचआइभी÷एड्स संक्रमितको महासंघका तालिम अधिकृत प्रकाश योगीले संक्रमितलाई रोगी भनी सम्बोधन गर्नु गलत भएको बताए । उनले भने, ‘केही शब्दले भेदभाव र लाच्छना घट्नुको साटो बढाएको छ । संक्रमितलाई रोगी, महामारीको रूप, पीडित भनी सम्बोधन गर्नु निराशाजनक हो ।’

संक्रमितले चाहेमा आफूबाट रोग फैलनबाट रोक्नसक्ने भएकाले उनीहरूलाई महामारीको रूप भनी सम्बोधन नगर्न आग्रह गरेका हुन् । लामो समयदेखि एचआइभी एड्सको क्षेत्रमा काम गरिरहेका नेपाल एचआइभी÷एड्स एलाइन्सका ऋषि ओझाले पहिलेको तुलनामा संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए । उनले सरकारले आफ्नो कार्यक्षेत्रलाई बढाएर अति जोखिममा परेका व्यक्तिसम्म पुग्न आवश्यक भएको बताउँदै अहिले संक्रमितको संख्या घटे पनि संक्रमणको उच्च जोखिममा रहेका मानिससम्म नपुग्दा एचआइभी÷एड्सको जोखिम रहिरहने धारणा राखेका थिए ।

नेपालमा ३९ हजार २ सय १४ मानिस एचआइभीको संक्रमणमा रहेको अनुमान छ । जसमा २५ हजार ४ सय ४९ पुरुष, १३ हजार ८ सय महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक रहेको छ । नेपाल एचआइभी÷एड्स संक्रमितहरूको महासंघका अध्यक्ष अच्युत सिटौला भने सरकारले गरेको कार्य पूर्ण नभएको धारणा राख्छन् । उनले केही प्रतिशतमा संक्रमण हुने संख्या घटे पनि संक्रमणमा रहेका व्यक्ति औषधिको पहुँचमा पुग्न नसकेको बताए । लागुपदार्थ दुव्र्यसनीका कारण एचआइभीको संक्रमणमा परेका सिटौला, युवालाई लक्षित गरी यस्ता खालका कार्यक्रम ल्याउनुपर्ने र सबै संक्रमितलाई औषधिको दायरामा ल्याउनु सरकारको चुनौति भएको बताउँछन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरीले नेपालले हालै प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति ०७१ तथा रणनीति (२०१६–२०२०) मा एन्टिरेट्रोभाइरल (एआरभी) औषधि उपचार सेवालाई विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । मन्त्री चौधरीले एचआइभीलाई प्रमुख चुनौतीका रूपमा राखेको र कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक आधारभूत स्वास्थ्य सेवाका रूपमा सूचीकृत गर्नुपर्ने बताउँदै उनले यसका लागि एचआइभीसम्बन्धी रणनीति तथा योजनाको कार्यान्वयनलाई पनि समीक्षा गरी अगाडि बढ्नुपर्ने बताए ।

मन्त्रालयले सन् ०१५ सम्ममा एचआइभी संक्रमणलाई ५० प्रतिशत घटाउने र एड्सबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा एचआइभी रोकथाम, परीक्षण, उपचार, हेरचाह सेवामा लक्षित समुदायको पहँुच उल्लेखनीय रूपमा बढ्दै गएको बताउँदै सन् ०३० सम्ममा एड्सको महामारीलाई अन्त्यका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीव्र बनाउन जरुरी भएको बताए । नेपालमा ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट हुनेगरेको केन्द्रका सूचना अधिकृत वीरबहादुर राउतले जानकारी दिए । नेपालले यसवर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराकासाथ मंगलबार एड्स दिवस मनाउँदै छ ।

प्रतिक्रिया