४ सय १० मोघावाटलाई किन हेला ?

काठमाडौं, १४ मंसिर । जाजरकोट जिल्लामा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर निर्माणको काम तीव्र पार्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।

हालै सरकारले जारी गरेको स्वेतपत्रमा मुलुकको ऊर्जा संकट समाधानका लागि जिल्लाको नलसिंहगाड र गोर्खाको बुढीगण्डकी जलविद्युत् आयोजनालाई पहिलो प्राथमिकता दिने उल्लेख भएसँगै जाजरकोटवासीले ४ सय १० मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य तीव्र पार्न आग्रह गरेका हुन् ।

नलसिंहगाड जलविद्युत् आयोजना निर्माणअन्तर्गत डिपीआर निर्माण र अन्य अवस्थाबारे स्थानीयवासीको सुझाव संकलन गर्न सदरमुकाममा आयोजित अन्तरक्रियामा उनीहरूले आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न माग गरेका हुन् ।

सदरमुकाम खलङ्गा, विद्युत्गृह निर्माणस्थल दल्ली र बाँध निर्माणस्थल नजिकैको सेपुखोलामा आयोजना विकास समिति र आयोजना सरोकार समितिले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा स्थानियवासीले मुलुकको आर्थिक विकास, ऊर्जा संकट समाधानको सम्भावना र अन्य कारणले नलसिंहगाडलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न आवश्यक रहेको सुझाव दिए ।

उनीहरूले ४ सय १० मेगावाट क्षमताको जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रणालीको स्थिरता कायम गर्न सहायक हुने, मुलुकको आर्थिक विकासमा क्षेत्रीय सन्तुलन कायम गर्न सक्षम हुने, निर्माणस्थलमा सहज पहँुच भएको, राष्ट्रिय ऊर्जाको दैनिक तथा मौसमी उच्च माग पूरा गर्न सक्षम भएको, जलाशय निर्माणपछि विस्थापित हुने जनसंख्या न्यून भएको र उनीहरूको पुनरवास तथा पुनरस्थापनाको समस्या कम भएको, स्थानीय जनताको अत्यधिक सहयोग र साथ रहेको र आर्थिक तथा वित्तीय सूचक उच्च रहनुका साथै प्रतिकूल वातावरणीय प्रभाव न्यून भएकाले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य तीव्र बनाउन माग गरेका हुन् ।

आयोजना निर्माणकालागि जस्तोसुकै लगानी गर्न तयार रहेको उक्त जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताए । आयोजनाले दीर्घकालीन रूपमा राष्ट्रको आर्थिक विकासमा सहयोग पु¥याउने भएकाले यसको निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

निर्माणस्थल नजिकैको गाउँ सक्लाका स्थानीय वेदराज सिंहले पनि आयोजनाका कारण जिल्लाको मात्र नभइ मुलुककै पर्यटन विकासमा टेवा पुग्दै मुलुकको ऊर्जा संकटलाई समेत टार्नसक्ने भएकाले यसतर्फ ध्यान जानुपर्ने बताए ।

स्थानीयवासीसँगको छलफल कार्यक्रममा नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले नेपालमा निर्माण हुनलागेका जलाशययुक्त जलविद्युत् आयोजनामध्ये सबै भन्दा सस्तो, सहज र विवादरहित आयोजना नलसिंहगाड नै भएको बताए । उनले यस जलविद्युत् आयोजनाको डिपीआर निर्माणका लागि विस्तृत इञ्जिनियरिङ डिजाइन तथा वातावरणीय अध्ययनकार्य अन्तर्गत प्रस्ताव मूल्यांकन समितिबाट मूल्याङ्न भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको बताए । ‘आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनको काम सकिए लगत्तै डिपीआर निर्माणको काम अघि बढेको र यस क्रममा पहँुचमार्ग निर्माण, आयोजनाको कार्यालय निर्माणलगायतका काम पनि तीव्र रूपमा भइरहेको छ’ उनले भने । आयोजना निर्माणका लागि कन्सट्रक्सन पावरका लागि जिल्लाकै रग्दा गाविसको तासु खोलाबाट तीन हजार ५सय किलोवाट क्षमताको सहयोगी जलविद्युत् आयोजना निर्माणका लागि पनि डिपीआर तयारी भइरहेको उनको भनाइ छ । यो वर्ष कन्सट्रक्सन पावरको डिपीआर तयार गरी अर्काे वर्ष बोलपत्र आह्वान गरिने कुँवरले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि ४ सय केभी प्रशारणलाइन निर्माण गरी कोहलपुरलाई सव स्टेसन बनाउने योजना निर्माणको काम तीव्रगतिमा भइरहेको उनले जानकारी दिए ।

‘आगामी १० वर्षभित्र आयोजना निर्माण सम्पन्न हुन्छ’ उनले दाबी गरे । आयोजनाको प्रकृति हेर्दा अहिले ४ सय १० मेगावाट उत्पादन क्षमता देखिए पनि ७ सय मेगावाटसम्म उत्पादन हुनसक्ने आयोेजनाका विज्ञहरू बताउँछन् । प्रतिमेगावाट २० करोडरुपैयाँमा निर्माण हुने यो आयोजना सन् २०१२ को योजना अनुसार ७० अर्बको रुपैयाँ लगानीमा बन्ने भए पनि बढ्दो महंँगीका कारण यसको कुल लागत १ खर्ब रुपैयाँ नाघ्ने देखिन्छ । निर्माण भएको १२ वर्षमा पूरै लगानी असुल हुने र यहाँबाट उत्पादित विद्युत् पनि सस्तोमा नै बिक्री हुने उनीहरू बताउँछन् ।

आयोजना निर्माणपछि ५ सय ८८ घरपरिवारको बस्ती र उनीहरूको बजार स्थानान्तरण हुने, ३ सय १४ हेक्टर कृषियोग्य जमिन र २ सय ९० हेक्टर वन र स्रोतको क्षति हुने बताइएको छ । आयोजना निर्माणका लागि कुल ६ हजार २ सय ८० रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य अनुसार चालु आवसम्म ५ सय ३१ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको र अन्य सामाजिक कार्य पनि तीव्रगतिमा अघि बढाइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया