‘चकलेट’ले बाँड्यो चकलेट

chockelet (1)काठमाडौं, १४ मंसिर । आगामी १८ मंसिरबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चकलेट’ले आफ्नो प्रचारमा समेत चकलेटकै प्रयोग गरेको छ ।

सोमबार काठमाडांैमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रकी नायिका तथा निर्मात्री पूजना प्रधानले अतिथि तथा पाहुनाहरूलाई चकलेट बाँड्दै स्वागत गरेकी थिइन् । सामान्य कथामा सरल चलचित्र बनाएको भन्दै चलचित्रका निर्देशक निर्मल शर्माले चलचित्रबाट ठूलो आशा गरेर नजान अनुरोध गरे । चलचित्रकी नायिका तथा निर्मात्री पूजना प्रधानले चलचित्र ‘चकलेट’ सडकमा रहेर जीवनयापन गरिरहेका बालबालिकाको कथामा निर्माण भएको बताइन् । नायिका प्रधानले फिल्मबाट उठेको रकमले ५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न लागेको पनि बताइन् । चलचित्रबाट आएको सम्पूर्ण रकम भवन निर्माणमा नै खर्च हुने पूजनाको भनाइ थियो ।

चलचित्र ‘चकलेट’का नायक आयुष्मान घिमिरेले पनि आफ्नो तर्फबाट भवन निर्माणका लागि नगद २५ हजार दिने बताए । उनले चलचित्र क्षेत्रमा लागिरहने र यसको सुरुआत ‘चकलेट’बाट भएको बताए । निर्देशक निर्मल शर्माले चलचित्र निर्देशन गरेवापत्को सबै पारिश्रमिक आफूले भवन निर्माणका लागि दिएको पनि बताए । चलचित्रका कलाकार केशव भट्टराईले यो चलचित्रमा आफू धनाढ्य मानिसको भूमिकामा देखिएको जानकारी गराए । उनले पनि चलचित्र हेर्न ठूलो आशा र भयंकर कथा छ भनेर नजान आग्रह गरे । चलचित्रमा नम्रता झा, सुमन गैरेको पनि मुख्य भूमिका छ । कार्यक्रममा हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले शुभकामना दिए । उनीहरूले ‘चकलेट’ चकलेट जस्तै गुलियो हुनेमा विश्वस्त रहेको बताए । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले निर्मल शर्माले जस्तै सरल कथामा ‘चकलेट’ बनेको भन्दै सफलताको शुभकामना दिए ।

निर्मल शर्मा ‘गँैडा’ को निर्देशनमा बनेको चलचित्र दरबारमार्गमा रहेका सडक बालबालिकाको कथामा आधारित छ ।

प्रतिक्रिया