विश्वका नेताहरू पेरिसमा

पेरिस । विश्वका नेताहरू जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि फ्रान्सको राजधानी पेरिसमा जम्मा भएका छन् । विश्वका करिब १ सय ५० देशका नेताहरू सो सम्मेलनमा जम्मा भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि उनीहरू त्यहाँ जम्मा भएका हुन् ।

चीन, भारत, रसिया, संयुक्त राज्य अमेरिकालगायतका विश्वका शक्तिशाली राष्ट्रका सरकारप्रमुखहरू सो सम्मेलनमा सहभागी हुने बताइएको छ । कार्बन उत्सर्जनका कारण भएको जलवायु परिवर्तनको असर कमगर्नेसम्बन्धी विगतका वर्षहरूदेखि जारी रहेको भनिएको सम्झौतामा यस सम्मेलनमा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

सो सम्मेलनमा जम्मा भएका नेताहरूको सुरक्षाका लागि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । पेरिसमा यसै महिनाको मध्यतिर भएको आतंककारी हमलामा परी कम्तीमा पनि १ सय २९ जनाको ज्यान गएको थियो ।

सो आक्रमण एक भयानक आतंकवादी हमला थियो । यस आक्रमणका कारण उक्त सम्मेलन पनि सर्नसक्ने अनुमान गरिएको थियो । फ्रान्सले पछिल्लो समयमा आएर सो सम्मेलन कुनै पनि हालतमा नसार्ने बताएपछि सम्मेलन आइतबार सुुरु भएको हो ।

नेताहरूले पेरिसमा मौनधारण गर्ने
आइतबार सुरु भएको सो सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका विश्वका नेताहरूले सो आतंकवादी हमलामा ज्यान गुमाएका नागरिकको स्मरण गर्दै मौनधारण गर्ने कार्यक्रम रहेको छ । ती नेताहरूले पेरिसमा आतंकवादी हमला भएको स्थानको पनि निरीक्षण गर्नेछन् । उनीहरूलाई विभिन्न समय मिलाएर विशेषतः सबैभन्दा धेरै नागरिक मारिएको बाटकलानमा पुगी सो मौनधारण गर्ने जनाइएको छ ।

बाटकलान नाट्यशाला सबैभन्दा बढी नागरिक सिकार भएको स्थान हो । सो क्षेत्रमा पुगी विश्वमा आतंकवादविरुद्धमा जारी युद्धको पक्षमा ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको पनि बताइएको छ । नेताहरू फ्रान्समा रहँदासम्मका लागि पेरिस र वरिपरि व्यापक सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षाका लागि पेरिसमा मात्र कम्तीमा २ हजार ८ सय जना प्रहरी खटाइएको जनाइएको छ ।

राष्ट्रपति ओबामाद्वारा श्रद्धाञ्जली व्यक्त

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले पेरिसमा भएको आतंकवादी हमलास्थल बाटकलानमा पुगी त्यसमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको समाचार छ । जलवायु परिवर्तनका कारण हाल संसारमा देखिएको विश्वव्यापी उष्णता कमगर्नेसम्बन्धी विश्व सम्मेलनका लागि फ्रान्स पुगेका राष्ट्रपति ओबामा आइतबार नैै पेरिस गएका हुन् । राष्ट्रपति ओबामा सोमबार बिहानीपख अर्ली विमानस्थलमा अवतरण गरेका थियो । त्यसलगत्तै उनी उक्त आतंकवादी हमला भएको स्थलमा गएका हुन् । ओवामाको यसस्थलकोे भ्रमणको सूचना भने दिइएको थिएन । १३ नोभेम्बरमा भएको हमलामा परी १ सय २९ जनाको ज्यान गएको थियो । उक्त हमलामा मारिएका १ सय २९ जनामध्ये अधिकांश सोही कन्सर्ट हलमा मारिएका थिए ।

फ्रान्समा भएको सो हमलापछि विश्वमा आतंककारी क्रियाकलापविरुद्धमा अमेरिका र फ्रान्स एक भएर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यी दुवै देशले सिरियामा आइएसका विरुद्धमा हवाई हमलालाई पनि निरन्तरता दिएका छन् । जसका कारण सिरियामा हालैका दिनमा हवाई कारबाही तीव्र भइरहेको छ । (एजेन्सी)

प्रतिक्रिया