कबड्डी कबड्डी देशैभर हाउसफुल

kabaddi kabaddi copyकाठमाडौं, १२ मंसिर । शुक्रबारबाट देशव्यापी रिलिज भएको नेपाली फिल्म ‘कबड्डी कबड्डी’ले दर्शकको राम्रो साथ पाएको छ ।

फिल्म रिलिज भएको पहिलो दिन देशैभर हाउसफुल भयो भने केही हलमा दर्शकको ओफर फ्लो हुँदा सँगै प्रदर्शनमा आएका नेपाली र हिन्दी फिल्म ‘तमाशा’लाई फाइदा पुग्यो । रिलिजको दोस्रो दिन पनि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी’ले दर्शकको राम्रो साथ पायो ।

‘कबड्डी कबड्डी’ले शुक्रबार प्राथमिकतासहित मल्टिप्लेक्समा १४ सो पायो । यो भन्दा बढी २ वर्ष पहिले रिलिज फिल्म ‘छड्के’ले यो प्राथमिकता पाएको थियो । कमलपोखरीमा रहेको कुमारी हल, सिभिल मल सुन्धारा र जयनेपाल हलमा शुक्रबार १४ सो नै हाउसफुलका साथ ‘कबड्डी कबड्डी’ले दर्शकको राम्रो समर्थन पाएको हो । अन्य हलहरूमा पनि शुक्रबार जस्तै शनिबार पनि दर्शकको घुइँचो थियो ।

पहिलो संस्करण ‘कबड्डी’को जस्तो उत्कृष्ट समीक्षा भेट्न नसके पनि फिल्म हेर्ने प्रत्येक दर्शक टिकटका लागि खर्चेको रकम सदुपयोग भएको भन्दै सन्तुष्ट देखिन्थे । शुक्रबार जस्तै शनिबार पनि फिल्म ‘कबड्डी कबड्डी’का लागि टिकट काट्न दर्शक लामबद्ध भएर लाइनमा बसेको भेटियो भने सडकको ट्राफिक जाम हटाउन ट्राफिक प्रहरी तैनाथ देखिएको थियो ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी’मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । रिलिजको पूर्वसन्ध्यामा बिहीबार गरिएको प्रिमियरबाट पनि फिल्मले राम्रो समीक्षा बटुलेको थियो । यसैबीच काठमाडौं र उपत्यकाबाहिर हल कम पाएको यो फिल्मको शुक्रबारको बिजनेससँगै हल थपिने निश्चित देखिएको छ । पहिलो दिन २० भन्दा बढी पर्दामा मात्रै लागेको यो फिल्मको शनिबारबाटै दर्जनबढी हल थपिएको फिल्म वितरण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया