माल्दिभ्समा भिडन्त

माले । मालदिभ्समा त्यहाँको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) ले सरकारका विरुद्धमा आन्दोलन सुरू गरेको छ । आन्दोलनकारीले बिहानैदेखि सरकारका विरुद्धमा शुक्रबार बिहानैदेखि प्रदर्शन सुरू गरेका थिए । हजरौँको संख्यामा सुरु भएको सो प्रदर्शनमा प्रहरीले शुक्रबार अपरान्ह व्यापक हस्तक्षेप गरेको थियो । त्यस क्रममा निकै ठूलो भिडन्त पनि भएको अधिकारीहरूले जनाएका छन् । आन्दोलनसँगै उनीहरूले ७३ घन्टे अनसन पनि थालेका छन् । सो अनसनमा हजारौँको संख्याका नागरिक बसिरहेका छन् । उनीहरूले उक्त पार्टीका नेता तथा मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदको रिहाइको माग गरेका छन् ।

प्रदर्सनकारीले सरकारले राजधानी मालेमा यस अघिदेखि नै घोषणा गरेको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए । उनीहरूले उक्त निषेधित क्षेत्रमा प्रवेश गरी नाराबाजी गर्नुका साथै सोही क्षेत्रमा अनसन सुरू गरेका थिए । प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो । त्यसपछि पनि प्रदर्शनकारीहरू त्यहाँबाट नहटेपछि रातीसम्म नै प्रहरीले पहरा दिइरहेको थियो । प्रहरीले शुक्रबार राती १२ बजेपछि त्यहाँ प्रदर्शन गर्न नदिने बताएको भए पनि प्रदर्शन भने जारी नै रहेको छ ।

विपक्षी दलका कार्यकर्ताहरूले ७३ घन्टासम्म नै धर्ना दिने बताएका छन् । उनीहरूले आफ्ना नेता मोहम्मद नसिदलाई रिहा गर्नुपर्ने मुख्य माग राखेका छन् । मालदिभ्सका गृहमन्त्री उमार नसिरले भने आफूहरूले पूर्वराष्ट्रपति नसिदलाई रिहा गर्न नसक्ने बताएका छन् । नसिद अदालतको फैसलाबाट जेल परेकोले न्यायिक निर्णयमा सरकारले केही गर्न नसक्ने धारणा उनले राखेका थिए ।

विपक्षी दलका कार्यकर्ताले भने नसिदलाई न्यायिक निर्णयका आधारमा नभएर राजनीतिक प्रतिशोधका आधारमा जेल हालिएकोले उनलाई तत्कालै रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । पूर्वराष्ट्रपति नसिद १ वर्षदेखि जेलमा छन् । उनलाई आतंकवादसँग सम्बन्धित निर्णयका आधारमा जेल हालिएको
थियो । (एजेन्सी)

प्रतिक्रिया