यात्रुको मन जित्दै साझा यातायात

sajha busकाठमाडौं, १० मंसिर । भारतको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा यात्रुको भरोसा साझा यातायात बन्न पुगेको छ । सहज रूपमा यातायातको साधन सञ्चालन हुन नसक्दा यात्रुलाई निरन्तर सेवा दिन सक्षम भएकोले साझा यातायातले सर्वसाधारणको भरोसा बटुलेको हो ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण आम सर्वसाधारण ठूलो समस्या बेहोर्नु बाध्य छन् । नागरिकले यसरी समस्या भोगिरहँदा साझा यातायात अहिले नागरिकको साथी बनेको यात्रु स्वयम् बताउँछन् । लामो समय बन्द रहेर पछिल्लो समय २०७० साल देखि पुनः सञ्चालन भएको साझा यातायातबाट नागरिकलाई ठूलो सहयोग हुँदै आएको छ ।

नाकाबन्दीका कारण नागरिकले समस्या भोग्नुपरेकाले यात्रुको सहजताका लागि नै अहिले साझाले आफ्नो सेवा विस्तार गरेको साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक पहेन्द्र पाण्डेले जानकारी दिए । सेवा विस्तारपछि लगनखेलदेखि बूढानीलकण्ठसम्म बस सञ्चालनमा छ ।

सेवा विस्तारमात्रै नभई यात्रुलाई थप सेवा होस् भन्ने उद्देश्यले अब छिट्टै २५ वटा बस थप्ने तयारी रहेको पाण्डेले बताए । अहिले उपत्यकामा १६ वटा साझा बस सञ्चालनमा छन् । सञ्चालनमा रहेका अन्य यातायातका साधनले जथाभावी भाडा असुल गरिरहँदा साझा बसले भाडा दर विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारण गरेको छ ।

यातायातका साधन सहज रूपमा नपाउने र बढी भाडा लिने भएकाले यात्रुहरू पाएसम्म साझा यातायात नै चढ्ने गरेका छन् । बसमा यात्रा गरिरहनुभएका हरि शर्मा थोरै यात्रुले मात्र सेवा लिन पाएकाले यात्रुको चापलाई ध्यानमा राख्दै सक्दो छिटो बस थप्नुपर्ने बताउछन् ।

यस्तै पुरानो बसपार्कबाट कलङ्कीका लागि बस चढ्नुभएकी सीता उप्रेती अहिले साझा बस विकल्पका रूपमा रहेकामा खुसी हुँदै सङ्ख्या थप गरी सेवा विस्तार गर्नेतर्फ व्यवस्थापनले सोच्न आवश्यक रहेको बताउछिन् । यसरी यात्रुले साझा बसलाई बढी मन पराइरहँदा टिकट बिक्रीबाट बसले पनि तुलनात्मक रूपमा केही बढी आम्दानी गर्दै आएको छ ।

प्रतिक्रिया