अनुदान रकम लिन काठमाडौं आउन नपर्ने

काठमाडौं, १० मंसिर । सशस्त्र प्रहरी बलले भुकम्प पीडित आफ्ना कर्मचारीलाई उपलब्ध गराउने अनुदान रकम लिन काठमाडौं आउनु नपर्ने जनाएको छ । शसस्त्रले वितरण गरिरहेको रकम लिन काठमाडौं आउन समस्या हुने देखिएपछि उसले सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रमा उपस्थित भई रकम बुझ्न तथा त्यहाँ सम्म पनि आउन नसक्ने भएमा कार्यरत जिल्लास्थित एपीएफ इकाईमै रकम पठाई दिने व्यवस्था भएको एपिएफले जनाएको छ ।

गत बैसाख १२ र २९ गते गएको भुकम्पले घर भत्किएर क्षति पुगेका सशस्त्र प्रहरी कर्मचारीहरुको बास उठ्न नदिन सशस्त्र प्रहरी बलले तत्काल कल्याणकारी प्याकेज घोषणा गरेको र हाल रकम वितरण गरिरहेको छ । सशस्त्र प्रहरी बलले कल्याणकारी कार्य अन्तर्गत दामासाहीले पछि फिर्ता गर्नु नपर्ने गरी करीव ३० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । निःशुल्क प्रदान गरिने उक्त रकमको पहिलो किस्ता वापतको २५ हजार रुपैयाँ वितरण भइरहेकोमा कतिपय सशस्त्र प्रहरी कर्मचारीले आफु कार्यरत ठाउँमै रकम पठाई दिन सुझाव दिएका थिए ।

यसले आउने जाने खर्च र समयको वचत हुने भएकाले कल्याणकारी सेवा केन्द्रले पीडित सशस्त्र प्रहरी कर्मचारीलाई सम्बन्धित एपीएफ इकाईमै रकम पठाईदिने व्यवस्था गरेको हो । पीडित सशस्त्र प्रहरी कर्मचारीलाई आर्थिक सहयोग उपलब्ध गराउन दुई वर्षसम्म हरेक सशस्त्र प्रहरी कर्मचारीले दैनिक दश रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराउने गरी राहत प्याकेज घोषणा गरिएको थियो ।
४० करोड रुपैयाँको कल्याणकारी प्याकेज घोषणा गरी त्यही रकमबाट कम्तीमा १० करोड रुपैयाँको विपत्ती राहत कोष स्थापना गरेर आगामी दिनमा विपत्तीमा पर्न सक्ने सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम प्रदान गर्न रकम छुट्टयाउने तथा बाँकी रकम घरविहिन हुन पुगेका सशस्त्र प्रहरी कर्मचारीलाई पुनर्वासको लागि दामासाहीले पछि फिर्ता गर्नु नपर्ने गरी वितरण गर्ने घोषित कार्यक्रम बमोजिम रकम वितरण भइरहेको एपिएफले जनाएको छ । यसैगरी ऋण सहयोग वापत भुकम्प पीडित सशस्त्र प्रहरी कर्मचारीहरुलाई मात्रै हालसम्म छुट्टै १९ करोड ९० लाख ७० हजार रुपैयाँ प्रदान गरि सकिएको छ भने ऋण दिने कार्यसमेत भइरहेको छ ।

प्रतिक्रिया