जिउँदै जलाइयो

Bablu-Rajbanshi-Morangबिराटनगर, १० मंसिर । मोरङको भातिगछ गाविस–७ का २८ वर्षीय बब्लु राजवंशीलाई बिहीवार मधेसी मोर्चाका कार्यकर्ताहरुले शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका छन् । को १ प २४५० नम्बरको मोटरसाइकलमा भारतीय पम्मबाट १५ लिटर पेट्रोल खरिद गरेर फर्कंदै गर्दा उनीमाथि भातिगछ–२ रामजानकी चोकमा आगो लगाइएको हो ।

राजवंशीलाई उनले नै ल्याएको पेट्रोल खोसेर जिउमा छर्किएर आगो लगाएर मोर्चाका कार्यकर्ता भागेका प्रहरीले जनाएको छ । चार÷पाँच जनाको समूहमा रहेका मोर्चका युवाहरुले बिहान साढे नौ बजेतिर आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।

आगोले राजवंशीको दुबै खुट्टा जल्नुका साथै छात्ती र गालामा बढी चोट लागेको प्रहरीले जनाएको छ । बायाँ खुट्टा पूरै जलेको छ । गम्भीर अवस्थामा कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ ।

अस्पतालमा ल्याउँदासम्म थोरै मात्र बोल्न सक्ने उनी अहिले बोल्नपनि सक्ने अवस्थामा नरहेको बब्लुका मामा रामबाबु राजवंशीले बताए । ‘घटनाबारे दुई चार शब्द भन्ना साथ भन्जाको मुखबाट बोलीनै निस्कन सकेन,’ उनले भने । बब्लुले विराटनगर बसपार्क नजिकै मोटरसाइकल ग्यारेज संचालन गर्दै आएका थिए ।

मामा रामबाबुका अनुसार ग्यारेजमा मोटरसाइकल बनाउनका लागि आएका ग्राहकले आफूलाई पेट्रोल आवश्यक परेको बताएपछि बब्लु उनै ग्राहकका लागि पेट्रोल लिन भातिगछ हुँदै भारतीय पम्पमा पुगेका थिए ।

‘जर्किनमा पेट्रोल लिएर आउँदै गर्दा एउटा समूहमा रहेका युवाहरुले रोकेर मागेछन् । दिन सकिंदैन भन्ने वित्तिकै त्यही पेट्रोल खोसेर जिउमा छर्किदिएर आगो लगाए छन्,’ रामबाबुले भने, ‘स्थानीय बासिन्दा भेला भएर आगो निभाउँदै बब्लुको ज्यान बचाएछन् । आगो ननिभाएको भए ज्याननै जाने थियो ।’

प्रहरीले घटनामा संलग्न तीन जनाको पहिचान भइसकेको जनाएको छ । डीएसपी खरेलका अनुसार भातिगछ–२ का अजय सिंह, जितेन्द्र मुखिया र जुगेश्वर मुखिया समेतको समूहले बब्लुमाथि पेट्रोल छर्किएर आगो लगाएको हो ।

घटना लगत्तै उनीहरु फरार रहेका कारण खोजीका लागि विशेष टोली परिचालन गरिएको खरेलले बताए । उनका अनुसार घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको बताइएको छ ।

आगोले पेट्रोल ल्याउँदै गरेको मोटरसाइकलमा पनि केही क्षति पुगेको छ । पेट्रोलमा सल्किएको आगोका कारण महम्मद कलामको जग्गामा रहेको चिया पसलमा पनि क्षति पुगेको छ । स्थानीय बासिन्दाले आगो निभाएका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया