संसद् बैठक अवरुद्ध

काठमाडौं, १० मंसिर । व्यवस्थापिका–संसद्को बिहीवारको बैठक पनि प्रतिपक्षी र मधेसी दलको हानाथापले हो–हल्ला भएका कारण अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै संसदीय प्रक्रियामा अवरोध पु¥याएका थिए ।

सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न दिएपछि कांग्रेसका सांसद्ले पहिला आफूहरूले बोल्न पाउनुपर्ने भन्दै उठेर होहल्ला गरेका थिए । यादवले भनाइ राखेसँगै मधेसी दलबाट बैठकमा नाराबाजी हुने स्थिती भएकाले कांग्रेसका सांसदहरूले आफूहरूले पहिला बोल्न पाउनुपर्ने जिकिर गरेका थिए । हात उठाएपछि दलीय आधारमा पालैपालो सबै सांसदलाई बोल्न दिइने भएकाले त्यतातर्फ टिप्पणी नगरी आफ्नो स्थान ग्रहण गरेर सहयोग गर्न सभामुख घर्तीले आग्रह गरेकी थिइन् ।

सभामुख घर्तीले बोल्न समय दिने आफ्नो अधिकार भएको र विधिअनुसार समय दिइएकाले अवरोध नगर्न आग्रह गर्दागर्दै पनि सांसद्ले नमानेपछि बैठक स्थगन हुन पुगेको हो । कांग्रेसका सांसद्हरूले दलीय आधारको औचित्य सिद्ध गर्न र कसलाई पहिला बोल्न दिने भन्ने स्पष्ट पार्न माग गरेका थिए । यसबीचमा सरकारलाई समर्थन गरिरहेको नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि बोल्न पाऊँ भन्दै समय माग गरेका थिए ।

संविधानमा असन्तुष्ट मधेसी दलको अवरोधका कारण यसअघिका संसद् बैठक पनि अवरोध हुँदै आएको थियो । संसद्को अर्काे बैठक यही मंसिर १५ गते बिहान ११ बजे बस्ने सभामुख घर्तीले बताइन् ।

‘सरकारले दबाउन खोज्यो’

आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दवाउन खोजेको आरोप लगाएका छन् ।

संसद्को बिहीवारको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गरेका थिए । उनले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गरेका छन् । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्र्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले सरकारका उपप्रधानमन्त्रीहरूले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिए, ‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उनले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिनुभयो ।

यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा ुभएका नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गरेका थिए । जवाफमा यादवले भने, ‘आज कांग्रेसको असली चरित्र देखियो ।’ ती दुई दलबीच संसद्को बिहीवारको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो ।

प्रतिक्रिया