‘समाधानको साँचो नेपालसँगै छ’

joli copyकाठमाडौ, १० मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको समस्याको समाधानको साँचो दिल्लीमा नभई काठमाडौंमै भएको बताएका छन् ।

राजधानीमा बिहीबार भएको एक साक्षात्कारमा उनले भने,‘ नेपालीहरुको समस्या नेपालले नै संबोधन गर्नु पर्छ । समस्या समाधानको साँचो दिल्लीमा छैन । काठमाडौंमै छ, नेपालीले नै खोज्नु पर्छ, हामीले होईन ।’

सोे साक्षात्कारमा जोलीले नेपालको समस्या नेपाली नेताहरुले शान्तिपूर्ण अहिंसात्मकरुपमा मन र दिमाग खुल्ला राखेर संबादमार्फत समाधान खोज्नु पर्ने बताउँदै हरेक वर्षापछि बादल हटेर सूर्य निस्किए झँै नेपालको संकट छिटो हल हुने आशा ब्यक्त गरे ।

उनले आफूसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत विरोधी नभएको बरु भारतको सच्चा भित्र भएको बताएको उल्लेख गर्दै नेपालको समस्या सिघ्र समाधान भएर नेपाल प्रगतितिर लाग्ने विश्वास बढेको बताए । ओलीको भेटपछि जोलीले भने,‘ म निक्कै आशाबादी छु । नेपालको अहिले देखिएको गतिरोध छिटै हटछ ।’

जोलीले आफू काठमाडांै ओर्लिनासाथ नेपालको पवित्र माटो निधारमा लगाएको उल्लेख गर्दै भने,‘जुन माटोप्रति भारतमा प्रेम छ । त्यही सम्मान नेपाली जनताप्रति पनि भारतीय जनताको छ । नेपाललाई सवल विकशित र शक्तिशाली देख्नु हाम्रो चाहना हो ।’

भारतले नेपालमा घोषित वा अघोषित कुनै पनि रुपमा आर्थिक नाकाबन्दी नलगाएको दावी गर्दै नेता जोलीले नेपालमा बढ्दो असुरक्षाको कारण भारतीय निजी सवारी चालकहरु नै प्रवेश गर्न नमानेकोले यस्तो अवस्था आएको दावी गरे ।
उनले भने,‘सामान बोकेका निजी सवारी साधनका चालकहरु नै सुरक्षाको कारण नेपाल आउन चाहँदैनन् । नेपालमा सुरक्षा भयो र यहाँ क्षति नपु¥याउने हो भने उनीहरु नेपाल आउन तयार छन ।’

जोलीले आफूहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको दावी गर्दै केही चासोहरु नेपाली नेताहरुलाई ब्यक्त गरेको भए पनि त्यो मान्ने नमान्ने यहाँका दल र नेताहरुको काम भएको बताए । नेताहरुसँग मात्र राखेको भारतको के थियो त त्यस्तो चासो ? भन्ने वारे भने उनले खुलाएनन् ।

उनले नेपालमा भारत विरोधी गतिविधी बढेको प्रति दुख ब्यक्त गर्दै आफ्नो देशको प्रधानमन्त्रीको पुत्ला जलेको देख्दा दुख लाग्नु स्वभाविक भएको तर्क गरे । जोलीले भने,‘ एक सय ५० दिनमा नेपालमा भएको भारत विरोधी सेन्टिमेन्ट हामीले भारतमा सुन्न पायांै । संयूक्त राष्ट्र संघमा मुद्दा गयो, जेनेभामा गयो । तर, भारतले कहिल्यै पनि यस विषयमा कुनै विज्ञप्ति निकालेन ।’

नेपालसँगको भारतको सम्बन्ध रणनैतिकसमेत भएको भन्दै नेपाल अशान्त हुँदा भारतका धेरै राज्य असुरक्षित हुने उनको तर्क थियो । उनले नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सवल भूमिका निर्वाह गर्दै भारत सरकारको निर्णयलाई राख्ने प्रयास गरेको भन्दै राजदूत परिवर्तनको सम्भावना आफूले नदेखेको बताए । जोलीले भने,‘ सरकारले अहिलेसम्म पुराना निर्णयहरु केही परिवर्तन गरेको छैन । यसमा पनि मैले सम्भावना देखेको छैन ।’

जोलीले कसैले पनि अहिले विवादास्पद बक्तब्यबाजी र बाद –विवादबाट बच्नु पर्ने भन्दै संवेदनशिल समयमा विश्वास र शान्तिसँग सम्झाउन सक्नु पर्नेमा जोड दिए ।

उनले आफू भारत फर्किएपछि यहाँ भएको कुराकानी र अवस्थाको विषयमा भारत सरकारलाई अवगत गराउने भन्दै यहाँ देखिएको पेट्रोलियम पदार्थ, औषधि र खाना पकाउने ग्यासको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘ पूर्वजन्ममा मेरो नेपालसँग पक्कै केही सम्बन्ध हुनु पर्छ जसको कारणले म पटक पटक यहाँ आईरहन पाएकोे छु ।’

जोलीले भाजपाकै सांसद किर्ति आजादले नेपालको तराईका १५ जिल्ला भारतीय भूमि भएकोले त्यसलाई नेपालले फिर्ता गर्नु पर्ने अन्यथा त्यसलाई बलपूर्वक लिनु पर्ने भनि दिएको अभिव्यक्तिलाई उनको निजी धारणा भएको बताउँदै त्यसमा आफू, भारतीय जनता पार्टी र भारत सरकार सहमत नरहेको स्पष्ट पारे ।

उनले भने,‘ भारत छिमेकीको सीमा मिच्ने पक्षमा छैन । त्यो उनको निजी मत हो । भारत नेपालको भौगोलिक अखण्डताको पक्षमा छ । सांसद किर्ति आजादको मिथिला क्षेत्रसँग सम्बन्ध भएकोले आवेशमा त्यस्तो अभिब्यक्ति दिएको हुन सक्छ । तर, त्यसमा हामी असहमति ब्यक्त गर्छौ । ’

जोलीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया