खोजखबर

चावहिल गणेश चन्द्र विनायकको जात्रा

सौर्य अनलाइन २०७२ मंसिर १० गते १६:२२ मा प्रकाशित

chabahil ganesh temple2हरेक वर्ष सकिमना पुन्हि अर्थात् कार्तिक शुक्ल पूर्णिमाका दिन चावहिल गणेशको जात्रा गरिन्छ । चावहिलमा रहेकाले चावहिल गणेश भन्ने गरिएको हो । चावहिल गणेश चन्द्र विनायकका नामले प्रख्यात छन् । उपत्यकाका प्रख्यात चार गाणेश मध्ये एक चावहिल गणेश पनि हुन् । नेपालका नेवारहरुले आफ्नै संस्कृति र परम्परा अनुसार मान्दै आएका धेरै गणेश छन् । तर, मुख्य गरेर उपत्यकाका प्रसिद्ध चार गणेशको सूचीमा सूर्य विनायक, चन्द्र विनायक, अशोक विनायक र जल विनायक पर्छन् ।

नेपालका हिन्दु र बौद्धहरुले गणेशलाई उत्तिकै मान्दै आएका छन् । बौद्धहरुले गणेशका साथै विभिन्न देवीदेवतालाई पनि बौद्ध देवताको रुपमा मान्दै आइरहेका छन् । चावहिल गणेश पनि बौद्ध विहारसँग सम्बन्धित भएकै कारणले चावहिले गाणेश भनिएको हो । चावहिल गणेश बौद्ध चैत्यमा अडेस लगाइएको छ । चावहिल गणेशलाई यसरी बौद्ध चैत्यमा किन अडेस लगाई राखेको होला भन्ने कुरामा एउटा किंवदन्ती छ । किंवदन्ती अनुसार हाँडीगाउँमा एकजना मान्छेले गणेश मुर्ति चोर्न आएको रहेछ । हाँडी गाउँलेहरुले देखी त्यस चोरलाई समाउन लेखेटेछन् । आफ्नो पछि पछि मान्छेहरु दौड्दै आइरहेको देखि चोर पनि भाग्न थाल्यो । चावहिल पुगेछि त्यो चोर कहाँ जाउँ कता लुकुँ भई बौद्ध विहारमा गई लुकेछ । चोरलाई लखेट्दै आएका मान्छेहरुले चोरलाई नदेखि त्यहीँबाट उनीहरु फर्किएछन् । त्यसपछि चोरले मलाई यही गणेशले बचाएका हुन अब मैले यो गणेशलाई यहीं स्थापना गरी राख्छु भनी त्यहीँ बौद्ध चैत्यमा अडेस लगाई दिएको रहेछ । यसैले यो गणेशको नाम चावहिल गणेश हुन भएको हो ।

बौद्ध र हिन्दुहरुले गणेशलाई विधा, बुद्धि, ऋषिसिद्धी, धनसम्पत्ति, सन्तान दिने देवताको रपमा मान्दै आइरहेका छन् । सबै देवगणका पनि पति भएकाले गणेशलाई गणपति पनि भन्ने गरिन्छ । गणेशको अर्को प्रसिद्ध नाम विनायक पनि हो । विनायकको अर्थ विशिष्ट नायक हो । यसो भनेको सम्पूर्ण देवताहरुले मान्नुपर्ने अर्थात् नायक थकाली हो । नेवारी संस्कृति अनुसार सबैभन्दा पहिला थकालीलाई मान्ने गरिन्छ । त्यस्तै सबैभन्दा पहिला गणेशलाई नै पूजा गर्नुपर्छ चाहे त्यो स्वर्गका देवताहरुले गर्ने विभिन्न शुभमंगल कार्य होस् वा मत्र्यलोकमा हामी मानिसहरुले गर्ने विभिन्न शुभमंगल कार्य होस् । सबै काम कुरा गर्नु अघि पहिला गणेशलाई नै पूजा गर्नुपर्छ । गणेशलाई पूजा नगरी कुने पनि काम पूरा हुँदैन वा सिद्ध हुँदैन भन्ने धार्मिक मान्यता छ ।

नेवारी संस्कृति अनुरुप विभिन्न स्थानमा रहेका गणेशलाई विभिन्न विशेषता अनुरुप पूजा गर्दै आइरहेका छन् । सूर्य विनायकलाई बोल्न नजान्ने बच्चाहरुलाई बोल्न सिकाउने देवताको रुपमा मान्दै आइरहेको छ भने चावहिल गणेशलाई घाउ खटिरा निको पार्ने देवताको रुपमा मान्दै आइरहेका छन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन चावहिल गणेशको जात्रा गर्नु अघि सबैभन्दा पहिला भैरवको अगाडि धुनी जगाई पूजा गन्छि । भोलिपल्ट अर्थात् प्रतिपदाका दिन गणेश र भैरवलाई बेग्लाबेग्लै खटमा राखी जात्रा गरिन्छ । गणेशको जात्रा गर्न गजुर राखी गहना लगाई दिन्छ । अनि गणेश र भैरवका खट १६ जना मानिसहरुले बोकेर टोलै पिच्छे परिक्रमा गराई जात्रा गरिन्छ । भक्तजनहरु खटका अघि पछि बाजा बजाउँदै जाने गर्छन् । पशुपति परिसरमा पनि लगेर जात्रा गरिन्छ । पशुपति परिसरमा भने गणेशको खट मात्र लाने गरिन्छ । भैरवको खट भने पशुपति परिसरमा लाँदैनन् । गणेश र भैरवको जात्रा गरिसकेपछि गणेश र भैरवको खटसँगै लस्करै कुमारी कन्याहरुलाई राखी दही चिउरा खुवाउने गरिन्छ । यो चलन अलिहेसम्म पनि निरन्तर रुपमा चल्दै आइरहेको छ । यति गरिसकेपछि त्यो दिनको जात्रा सकिन्छ । भोलिपल्ट दिउँसो गणेश र भैरवलाई अर्कै खटमा राखी सिन्दुर जात्रा मनाइन्छ । यो दिन पनि बाजा बजाउँदै धुमधामसँग भक्तजनहरुले जात्रा मनाउँछन् । रमाइलो गरी सिन्दुर जात्रा मनाउने क्रममा भक्तजनहरले मुखमा अविर दल्ने गर्छन् । एकले अर्कोलाई पालैपालो अविर लगाई दिने गर्छन् । त्यसपछि गणेश र भैरवलाई पूजा गरी देवताहरुलाई पुजारीको घरमा भित्र्याइन्छ । यति गरिसकेपछि जात्रा सकिन्छ । चावहिल गाणेशको यो जात्रा ३०० वर्ष अघिदेखि चल्दै आइरहेको हो भनिन्छ ।

चावहिल गणेशको मन्दिर पछाडि उत्तरतर्फ मुख्य कुमारी देवी छिन् । यी कुमारी देवी अन्य कुमारी भन्दा जाज्वल्य र प्रसिद्ध भनी मान्दै आइरहेको पाइन्छ । भैरवको अगाडि क्षेत्रपाल वेताल पनि छ । वैद्यहरले दीक्षालिँदा गणेशलाई पञ्चवलि दिएर पूजा गर्ने चलन छ । हाल आएर गणेशको पछाडि मात्र वलि दिने चलन रहेको हो भनिन्छ ।

चावहिल गणेशलाई घाउ खटिरा आएका मानिसहरुले भाकल गरी पूजा गर्दा घाउ खटिरा निको भएर जाने विश्वास भएकोले भक्तजनहरु धेरै नै आउने गर्छन् । गणेशका भक्तजनहरुले सेवा गरिरहे सुख, शान्ति, ऐश्वर्य र धनसम्पत्ति प्राप्त हुन्छ भन्ने विश्वासले धेरै नै भक्तजनहरु आउने गर्छन् । माघ महिनाको मंगलबार मेलाजस्तै हुने गरी भक्तजनहरु हुलका हुल आउने गर्छन् । यो गणेशको वाहुन छुचुन्द्रो हो भने आसन भने नागको रहेको छ ।

कार्तिक शुक्ल पूर्णिमाकै दिन असनका ज्यापुहरुले नेवारी परम्परा अनुसार “न्या ल्व हँ बीउ” भनी हाँडीमा सुकेका माछा राखी अन्नपूर्ण देवीको मन्दिर अगाडि देव्रेपट्टि काँचो ईंटाको चुल्हो बनाई पराल बालेर माछा भुटेर राखी छोड्छ । त्यो त्यसै छाडी राखेको हाँडी र हाँडीमा भएको माछा जुन मानिसले लान्छ, उसलाई टुक्राटुक्रा पारी काटिराखेका कुभिण्डोका टुक्राले हिर्काउने गरिन्छ । यसरी हिर्काउँदा एक टुक्राले भए पनि त्यस मानिसलाई लाग्नु पर्छ भनिन्छ । त्यो हाँडी लिएर गएको मानिसलाई धनलाभ हुन्छ, पुत्रलाभ हुन्छ भन्ने भनाइ छ । यति कर्म गरिसकेपछि असनका ज्यापुलहरुले अन्नपूर्ण देवीको पूजा गर्छन् । पूजा गरेको तौकि चामल त्यहाँ भएका भक्तजनहरुलाई बाँँडी दिन्छ । त्यो चामल अक्षता ढुकुटीमा लगी राख्छन् । त्यो अक्षता ढुकुटीमा राख्यो भने धन–धान्य भएर आउँछ भन्ने जनविश्वास छ ।

स्मरणरहोस्, यही दिन अर्थात् कार्तिक शुक्ल पूर्णिमाका दिन महामञ्जुश्रीले स्वयम्भुको महाज्योति दर्शन गर्नु भएको थियो भनिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय