“सत्ताले मातेकाबाट महिला हिंसा”

CP mainaliकाठमाडौं, ९ मंसीर । उपप्रधान तथा महिला बालबालिका मन्त्री सिपी मैनालीले पुरुषसत्ता र राजनीतिक सत्ताबाट मातेकाहरूले महिलामाथि हिंसा गर्ने गरेको बताएका छन् । राजधानीमा भएको लैंगिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियानको अवसरमा निकालिएको बृहत ¥यालीपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री मैनालीले यस्तो बताएका हुन् ।

उनले पुरुषसत्ता र राजनीतिक सत्ताबाट मातेकाहरूविरुद्ध अभियान केन्द्रित गर्नू पर्ने भन्दै मानव सभ्यताको विकासको क्रमसँगै महिलामाथि हिंसा हुने परिपाटी सुरु भएको बताए । उनले भने, ‘हजारौं वर्षदेखि कायम रहेको विभेद रातारात समाप्त हुँदैन, त्यसविरुद्ध हामी जागेका छौँ । महिलाहिंसा अन्त्यको लागि नयाँ संविधानले धेरै व्यवस्था गरेको छ, त्यसमध्ये राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गर्ने कुरा समानताको सुरुवात हो ।’

महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईले १६ दिनसम्म मनाईने २४ औं अन्तराष्ट्रिय लैंगिक हिंसाविरुद्धको अभियानका बारेमा प्रष्ट पारेका थिए । महिला हिंसाविरुद्धका सदभावना दूत तथा गैर आवशिय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले लैंगिक हिंसा अन्त्यका लागि महिलालाई नै सशक्त बनाउनुपर्ने बताए । महिलालाई सशक्त बनाउने जिम्मा राज्य, हामी र हाम्रो परिवारमा रहेको सदभावना दूत घलेको भनाइ थियो ।

यसैवीच सरकारले नायक राजेश हमाल, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र एनआरएनका अध्यक्ष शेष घलेलाई लैङ्गिक हिंसाविरुद्धका सद्भावना दुत नियुक्त गरेको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुननिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने मूलनारा सहित बुधबारदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

प्रतिक्रिया